प्रचण्डको गठबन्धन फेर्ने सत्ता मोडल

कांग्रेस महासमिति बैठकपछि सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रबीच बढेको आशङ्का र अविश्वासले आइतबार साँझ नै अन्तिम रूप लियो । हिजो साँझदेखि राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमले निकै तताएको  बालुवाटार, बुढानीलकण्ठ, पेरिस डाँडा, बालकोट र वनस्थलीमा नेताहरूले महसुस गरेको रापको दाउरा बनेर वर्तमान गठबन्धन सरकार स्वाहा भएको छ ।
 
रातभरि जागै बनेको बालुवाटार, बालकोट र बुढानीलकण्ठको व्यस्तताको परिणाम अन्ततः एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग माओवादीको तीन दलीय नयाँ सत्ता समीकरण बनेर देखिएको छ । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाले र रास्वपाको साथ पाउने भएपछि कांग्रेसलाई किक हान्न कत्ति पनि समय लगाएनन् । वर्तमान सत्ता गठबन्धन ढलेर आजै नयाँ समीकरणको सरकार गठन हुने भएको छ ।    

यो नयाँ समीकरणको सरगर्मीले एमालेपछि रास्वपालाई उत्तिकै ततायो र सचिवालय बैठकले नयाँ सत्ता समीकरणको निर्णय गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दियो । बालुवाटारमा छलफलमा बसेका एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष दाहाल, रास्वपाका सभापति लामिछाने एवं तीनै दलका केही शीर्ष नेता लिएर राजनीतिको नयाँ समीकरण बनाउन बसेको बैठकले नयाँ सरकार गठन गर्ने निश्चित गरेको हो । दलहरूले नयाँ समीकरण बनाए पनि कसको भागमा के पर्छ भन्ने प्रस्ट हुन बाँकी छ । यसले नेपाली सत्ता राजनीतिको आगामी चित्र कस्तो हुने भन्ने हेर्न बाँकी नै छ ।  

गठबन्धनको भविष्य समाप्त पार्ने कारणमध्ये कांग्रेसका दुई मन्त्रीलाई फिर्ता बोलाउने र राष्ट्रिय सभा अध्यक्ष लिन कांग्रेस माओवादीको आ–आफ्नो अडान नछाडेको विषय सतहमा देखिए पनि पछिल्लो समय माओवादी उपमहासचिव वर्षमान पुनको सक्रियतालाई नजरअन्दाज गर्न सकिँदैन । यसमा उत्तर अघि बढ्यो कि दक्षिण पछाडि पर्‍यो भन्ने बिस्तारै स्पष्ट हुँदै जाला । 

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ३२ सिटको खुब फाइदा उठाइरहेका छन् । तेस्रो दल भए पनि चौथो पटक प्रधानमन्त्री बन्ने सौभाग्य दाहालकै माथामा परेको छ । एमालेलगायत ७ वटा राजनीतिक दल र केही स्वतन्त्र  गरी १ सय ६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल वर्तमान गठबन्धन फुटाएर अब कम्युनिस्टसँग नयाँ गठबन्धनको नेतृत्व गर्दै  राजनीतिक यात्रामा चौथो पटक प्रधानमन्त्री बन्नेछन् ।  

वर्तमान गठबन्धन सत्ता साझेदार कांग्रेससँगको खटपटपछि नयाँ गठजोड गरेका  दाहालले एमाले र रास्वपालाई साथमा लिएर तीन दल सम्मिलित सत्ता गठबन्धनको तत्कालीन नयाँ मोडल बनाएका छन् । 

प्रधानमन्त्रीको चौथो पटक उपमा लिन केही पाइला मात्रै पछि रहेका दाहालका लागि वर्ष २०८९/८० सरकारको नेतृत्व लिने हिसाबले धेरै हदसम्म सफल पनि रह्यो । २०८९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले कांग्रेस लगायतसँग मिलेर सरकारको नेतृत्व गरेको सोमबार १ वर्ष दुई महिना ११ दिन पुगेको छ । 



संयोग के भने गत पुस १० गते सोमबार प्रधानमन्त्रीको शपथ लिएका दाहालले  सोमबार नै नयाँ कार्यकालको प्रधानमन्त्रीका लागि नयाँ मोडल तयार पारे । तर त्यसलाई एमालेले आफ्नो हिसाबले अझै अनुमोदन गरिसकेको छैन । 

एक वर्ष २ महिना मै कांग्रेससँगको गठबन्धन टुटाएर दाहालले आफ्नै नेतृत्वमा पुनः कम्युनिस्टसँग मिलेर नयाँ सरकार बनाउने भएसँगै यतिबेला केन्द्रदेखि सातै प्रदेशको राजनीतिको समीकरण फेरिने स्पष्ट छ ।  प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० गरी नयाँ गठबन्धनमा १ सय ३० जना सांसद छन् । 



  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १७:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया