धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित

स्थानीय उत्पादन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्स्पोमा नौ करोड रुपैयाँको कारोबार भएको छ ।

यही फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा नौ करोड रुपैयाँको कारोबार भएको र एक लाख पाँच हजार जनाले अवलोकन गरेका सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिए । गत वर्षको तुलनामा यसपटकको एक्स्पोमा व्यापार–व्यवसायमा विविधता रहेकाले सहभागीहरू पनि उत्साहित बनेको महासचिव प्रधानले बताए । उनले भने, ‘यसपटक स्थानीय कृषि उत्पादनदेखि देश–विदेशका औद्योगिक उत्पादनसम्म समेटिएकाले व्यापारी र ग्राहक दुवै सन्तुष्ट रहेको पाएका छौँ ।’

एक्स्पोमा स्थानीय रुपमा उत्पादित स्ट्रबेरी, किबी, बेसार र साबुनका स्टल राखिएका छन् । त्यसैगरी, धरानको खेल पर्यटनलाई प्रवर्द्धन गर्न जिपलाइनदेखि प्याराग्लाइडिङ र विभिन्न खेल समावेश गरिएका थिए । त्यसैगरी, विभिन्न खानेकुरा, नर्सरी, गाडी र मोटरसाइकलका स्टलहरु एक्स्पोमा राखिएका छन् । व्यापारमा विविधतासँगै व्यवसायीहरू पनि उत्साहित भएका छन् ।

विराटनगरबाट साबुनको व्यापार गर्न आउनुभएका व्यापारी मदन मास्के धरान एक्स्पोमा राम्रो व्यापार भइरहेकामा उत्साहित छन् । धेरै वर्षअगाडि देखि मार्केटिङको काम गर्दै आएका उनले अहिले धरान एक्स्पोमा बम्पर अफरसहित साबुन र सर्फ बिक्री गरिरहेका छन् । उनको स्टलमा निकै भीड लाग्ने गरेको छ । एक्स्पोमा तीनजना स्टाफ राखेर व्यापार गरिरहनुभएको उनी खुसी हुँदै भन्छन्, ‘एक दर्जन कपडा धुने साबुन किन्दा एक दर्जन साबुन निःशुल्क दिएको छु, सर्फ पनि एक प्याकेट किन्दा एक प्याकेट सित्तैमा दिएको छु । त्यसो गर्दा मेरो स्टलमा राम्रो व्यापार भइरहेको छ ।’

उनले दैनिक रुपमा एक लाख रुपैयाँदेखि एक लाख ८० हजारसम्मको व्यापार गर्दै आएको बताए । धरान एक्स्पोमा जुम्लाबाट अग्र्यानिक स्याउ लिएर आएकी गङ्गादेवी राउत पनि व्यापार राम्रो भइरहेको बताउँछन् । दश वर्षअगाडि देखि यसरी नै प्रत्येक हाटबजार र उत्सवतिर गएर व्यापार गर्दै आएको राउत धरान एक्स्पोमा सोचेभन्दा राम्रो व्यापार भएको बताउँछन् । दैनिक ४० देखि ५० हजारको स्याउ बिक्री भइरहेको बताउँदै उनले भनिन्, ‘धेरै ठाउँमा व्यापार गर्दै आएकी छु तर अहिले धरानमा जस्तो व्यापारमा उत्साहित चाहिँ पहिला कहिले भएकी थिइनँ ।’ उनले एक्स्पोमा जुम्लाबाट ल्याएको अग्र्यानिक स्याउ, मार्सी चामल, गहुँको चामल, सिलाजित, दाललगायत जुम्लाका स्थानीय उत्पादन बेचिरहेकी छन् । 

यही फागुन २३ गतेसम्म सञ्चालन हुने धरान एक्स्पोमा पाकिस्तान, भारतलगायत देशका विभिन्न उत्पादन पनि बिक्री भइरहेका छन् । रोटे पिङलगायत खेलका साथै हरेक साँझ साङ्गीतिक कार्यक्रम पनि भइरहेको छ । विगतको वर्षभन्दा यसपटकको एक्स्पो कारोबारका हिसाबले राम्रो रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार २१:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया