logo-img

सरकारमा जाँदैनौँ, पर्ख र हेरको अवस्थामा छौँ : रेशम चौधरी
‘वास्तविक भूमिपुत्रले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नुपर्छ’

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरू अहिले सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

नाउपाको केन्द्रीय समितिको बैठक दुई दिनदेखि बसेर सकिएको उनले बताए । नेता चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । 

‘यो सत्ता गठबन्धनको सरकारमा धेरै विचार पुर्याएर मात्रै सहभागी हुनुपर्छ । हामी सानो पार्टी । हामी पर्खिन्छौँ । हामी गहिराइको मापन गर्ने बेला भएको छैन,’ उनले भने । 

साथै, सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर आफूहरूले बार्गेनिङ नगरेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार बार्गेनिङ नभएर आफूहरूको अधिकार भएको बताए । आफूहरू केन्द्रीय सरकारमा अहिले नगए पनि उक्त प्रदेशमा दाबी रहेको बताए । वास्तविक भूमिपुत्रले उक्त प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

साथै, उनले टीकापुर घटनाका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । नेता चौधरीले टीकापुर विद्रोहमा थारूहरूलाई बदनाम गराइएको बताए । 

‘ती परिवारलाई न्याय दिनका निमित्त विगतदेखि वर्तमानसम्म हामी प्रतिबद्ध छौँ । अझ हामी भन्न चाहन्छौँ, टीकापुर विद्रोहमा थारूहरू बदनाम भए, थारूहरूलाई हत्याराको लोगो लगाइदियो,’ उनले भने, ‘तर, थारूहरूको निवेदन राज्यले स्विकारेन । त्यही निर्वाचन आयोगले रेशमलाल चौधरीको मनोनयन स्वीकार गर्यो । तर, प्रमाणपत्र दिएन । न्यायलयले पनि मेरो मुद्दालाई दरपीठ गरिदियो ।’ 



टीकापुर घटनामा थारूहरू धेरै पीडित रहेको उनको भनाइ छ । उक्त घटनामा धेरै थारूहरूको कानको जाली फुटेको, धेरै चेलीबेटी हिंसामा परेको र सयौँलाई झुटा मुद्दा लगाइएको उनको आरोप छ । ‘टीकापुर घटनाबाट पीडित सयौँ बुबाआमाहरूको कानको जाली फुटेको छ । सयौँ चेलीबेटीमाथि हिंसा भएको छ । सयौँमाथि झुटा  मुद्दा लागेको छ । सुरक्षाकर्मीको परिवारले पनि न्याय पाउनुपर्छ । त्यसको समाधान राज्यले गर्नुपर्छ,’, उनले भने । 

साथै, नाउपाले महाधिवेशनबाट चयन गरेको पदाधिकारीहरूको नामावली अध्यावधिक गर्न निर्वाचन आयोगमा पेश गरेको र उक्त कार्य प्रक्रियामा रहेको बताए । 



साथै, उनले आफूलाई न्याय दिलाएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई म र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु । जसको कारण मलगायत सबै राजबन्दीलाई रिहा गरिदिनुभयो,’ उनले भने । 

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १६:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया