logo-img

अन्तर्राष्ट्रिय महिला दिवस
महिला अधिकार ‘कानुनमा सीमित’

यस वर्ष ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । 

अधिकार स्थापित गर्नकै लागि नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरूको अग्रणी भूमिका छ । २००७ सालको क्रान्ति होस् या २०६२/६३ सालको आन्दोलन । त्यो समयमा कयौँ महिला सहिद, विधवा र बलात्कृत भए । कयौँ महिलाले जेल जीवन भोगे । 

त्यति मात्र होइन प्रजातन्त्र प्राप्तिका लागि महिलाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा देशमा भएको ऐतिहासिक आन्दोलनमा उपस्थिति मात्र होइन नेतृत्व पनि लिएका छन् । तर जब परिवर्तन संस्थागत हुने बेला हुन्छ, कार्यकारी पदमा पुग्ने बेला हुन्छ, महिलाको क्षमतामा विश्वास गरिन्न । महिलाको क्षमता नभएर होइन नेतृत्वले विश्वास नगरेकै कारण कार्यकारी पदमा महिलाहरू पुग्न सकेका छैनन् ।

नेपालको संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री मानिन्छ । अन्य देशको तुलनामा राजनीतिक क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडि बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था समेत गरिएको छ ।

संवैधानिक बाध्यताले व्यवस्थापिकामा महिलाको उपस्थिति देखिएता पनि कार्यपालिकामा भने महिलाको उपस्थिति ज्यादै न्यून देखिन्छ । अहिले संघीय सरकारमा जम्मा चार जना मात्रै महिला मन्त्री छन् । समग्रमा हेर्दा विश्वले अन्तर्राष्ट्रिय नारी दिवस मनाएर महिलाको देखावटी  सम्मान गर्न थालेको दशकौँ भए पनि अझै अधिकार, समानता र विभेद अन्त्यका लागि लामो संघर्ष बाँकी नै देखिन्छ ।

यद्यपि, इतिहासमै पहिलो पटक नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको रूपमा महिलालाई पाएको थियो । अहिले धेरै निर्णय प्रक्रियामा पुरुष नै देखिएकाले त्यो गरिमामय इतिहास फेरि नदोहोरिने हो कि भन्ने शंका धेरैमा उठ्न थालेको छ ।



नेपालको संविधानले छोरीलाई छोरासरह सम्पत्तिमा अधिकार हुने व्यवस्था गरे पनि त्यो अझै सुनिश्चित हुन सकेको छैन । आमाको नामबाट नागरिकता पाइने कानुनी व्यवस्था कार्यान्वयनमा अनेकौँ जटिलता छन् । त्यसैले, आजको दिनमा नारी दिवस मनाउँदै गर्दा यस दिनको सार्थकता तब मात्र झल्किन सक्छ, जब महिलाले कागजी रूपमा प्राप्त गरेका सम्पूर्ण अधिकार व्यावहारिक रूपमै पाउन सफल हुनेछन् ।

आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।  विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । 



महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा  १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो । 

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो । लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा र्‍याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइने भएको छ । 

  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १२:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया