logo-img

उपनिर्वाचन : इलाम–२ मा उम्मेदवारीका लागि नेम्वाङसहित ६ जनाको दाबी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न एमालेका ६ जनाले दाबी गरेका छन् । उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो ।

दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिएका हुन् । निवेदन दिनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।

आइतबार साँझसम्म कार्यदलमा ६ जनाको निवेदन आएको सचिव उमेश गुरुङले जानकारी दिए । निवेदन दिनेमध्येबाट कार्यदलले सोमबार कोही एकजनाका लागि सर्वसम्मति खोज्ने प्रयास गर्ने जनाइएको छ । सहमति नजुटेको अवस्थामा चैत ३ गते जिल्ला सचिवालयमा सबैको नाम पेस गरिनेछ ।

त्यसपछि पार्टी जिल्ला कमिटीले चैत ५ गतेसम्म उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाउनेछ ।

संविधानसभा सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उनको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच, वैशाख १५ गते हुने उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने भएका छन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएको कांग्रेसले हालसम्म उम्मेदवार तय गर्न सकेको छैन ।



जिल्ला समितिका एक सदस्यका अनुसार पार्टी सभापति डम्बर खड्का उम्मेदवार बन्ने करिब पक्का भइसकेको छ । गत निर्वाचनमा उम्मेदवार रहेका खड्का नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत पाएका थिए । 
 



  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १८:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया