logo-img

माओवादी रूपान्तरण : प्रचण्डपथदेखि परिवारवादसम्म
प्रचण्डमाथि ‘पाखण्डी’को आरोप : छोरी–ज्वाइँपछि भाइलाई राष्ट्रिय सभा अध्यक्ष

सुशासन र सदाचारको भाषण गरेर कहिल्यै नथाक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारमोहका कारण फेरि एकपटक विवादमा आएका छन् । लाखौँ जनताका छोराछोरीलाई युद्धमा होमेर सशस्त्र द्वन्द्वको नेतृत्व गरेका प्रचण्डले राजनीतिको मूलधारमा आएपछि भने आफ्नै पारिवारिक सदस्यलाई मात्रै काखी च्यापेर अघि बढेका छन् । 

०५७ माघ २६ देखि फागुन १ गतेसम्म भारत, पञ्जाबको भटिन्डामा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथ पारित गरेको थियो । त्यसपछि माओवादीले हरेक मोर्चामा माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको नारा लगाउन थालेका थियो । ०६५ पुस २९ गते नारायणकाजी श्रेष्ठको एकता केन्द्रसँग एकीकरण गरेर पार्टीको नाम नै एकीकृत नेकपा माओवादी राखेपश्चात् माओवादीले प्रचण्डपथ त्यागेको थियो ।

दस्ताबेजबाट प्रचण्डपथ  हटाएर जोगिएका प्रचण्डले १५ वर्षयता आफ्नो  परिवारलाई महत्वपूर्ण पदमा स्थापित गराउँदै आएका छन् । प्रचण्डको परिवारवादले सीमा नाघिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै महत्वपूर्ण ‘पद’ पायो कि आफ्नो परिवारका सदस्यलाई अघि सारिहाल्छन् । उत्तर कोरिया, क्युवालगायत विश्वका विभिन्न कम्युनिष्ट शासित मुलुकका शासकले झैँ प्रचण्ड पनि आफ्नै परिवारका सदस्यलाई महत्वपूर्ण पदमा पुर्याएर कतै सत्ताकब्जाको राणनीतिमा अघि बढेका त होइनन् भन्ने प्रश्न उठ्न थालेको छ । 

०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै ‘दाहालतन्त्र’को सुरुवात भइसकेको थियो । त्यतिबेला उनले हाल दिवंगत भइसकेका छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टीभित्र आलोचनाका स्वरहरू पनि नसुनिएका होइनन् ।

दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाएका थिए । तेस्रोपटक प्रधानमन्त्री हुँदासम्म त  दाहाल परिवारवादको मोहमा चुर्लुम्मै डुबिसकेका छन् । 



राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा आफ्नै भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णयले प्रचण्ड परिवारवादमा फसिसकेको दृष्टान्त घामझैँ छर्लंग भएको छ । परिवार, नाता–गोता, इष्टमित्रलाई मात्र पोस्ने दाहालको कार्यशैलीका धेरै उदाहरणहरू छन् । 

गंगा दाहाल




 
प्रचण्डले आफ्नै कान्छी छोरी गंगालाई स्वकीय सचिव बनाएर देशभित्रै र बाहिर हुने महत्त्वपूर्ण बैठकहरूमा सहभागी गराउने गरेका छन् । खासगरी भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिन्पिङसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तामा गंगाको ‘विशिष्ट तह’को सहभागिताले प्राथमिकता पाएपछि माओवादी वृत्तमा र देशभर यसको व्यापक आलोचना भएको थियो ।

रेणु दाहाल


 
प्रचण्डकी माइली छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन् । यो उनको दोस्रो कार्यकाल हो । ०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणना सम्झन लायक छ  । कांग्रेस–माओवादी केन्द्रकी साझा उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाललाई मेयर पदमा जिताउन मतपत्र च्यात्ने मात्र होइन, दोहोर्याएर चुनाव गराउनेसम्मको चर्तिकला भएको थियो ।  

जीवन आचार्य 


 
प्रचण्डका कान्छा ज्वाइँ अर्थात् गंगा दाहालका पति जीवन कोशी प्रदेशमा यसै वर्ष दुईपटक मन्त्री बने । एक महिनाको अन्तरालमै उनी कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजनामन्त्री बन्न सफल भए । दोहोर्याएर उनैलाई मन्त्री बनाएमा पार्टी त्याग्नेसम्मको धम्की कतिपय पुराना नेताले दिएका थिए । पार्टीका वरिष्ठ नेताहरूको उक्त धम्कीका बाबजुद पनि पनि प्रचण्ड आफ्नो निर्णयबाट पछि हटेनन् । 

विना मगर 

विना प्रचण्डका एक मात्र छोरा प्रकाशकी तेस्री श्रीमती हुन् । प्रकाशले नुवाकोटकी बोगटी थरकी महिलासँग पहिलो विवाह गरेका थिए । उनीसँग सम्बन्ध–विच्छेद गरेर उनले पोखराकी सिर्जना त्रिपाठीसँग दोस्रो विवाह गरे । सिर्जना र प्रकाशबाट एक छोरा छन् । बाबु प्रचण्ड पहिलोपटक प्रधानमन्त्री रहेका बेला प्रकाशले विना मगरसहितको टोली लिएर सगरमाथा आरोहण गर्न गए । त्यहीबेलाको घनिष्ठ सम्बन्धलाई विवाहमा परिणत गरेर प्रकाशले विनालाई कान्छी श्रीमती बनाए । प्रकाश–विनाबाट पनि एक छोरा छन् । 

छोरा प्रकाशको निधनपछि प्रचण्डले बुहारी विनालाई राजनीतिमा अघि बढाए । कैलालीबाट उम्मेदवार भएर विना एकपटक सांसद पनि भइन् । माओवादी युद्धकालमै राजनीतिमा लागे पनि आफूभन्दा सिनियर कैयौँलाई पछि पार्दै विना मुलुकको ‘खानेपानीमन्त्री’ बन्न सफल भइन् । उनको सफलताको एक मात्र राज प्रचण्डकी बुहारी हुनु नै थियो । युद्धकालमा सरकार पक्षबाट चरम यातना खेपेकी विनाले मन्त्रीका रूपमा भने खासै उपलब्धिपूर्ण काम गर्न सकिनन् । तत्कालीन प्रधनमन्त्री केपी ओलीले पटकपटक मन्त्रीबाट हटाउन आग्रह गरे पनि प्रचण्डको बलियो साथका कारण उनी मन्त्रीबाट फिर्ता हुन परेन । 

रेणु दाहालसँग नातेदारी रहेका बुद्धि जिसीले पनि यस्तो ‘प्रचण्ड अवसर’ पाउँदै आएका छन् । रेणुका श्रीमान् अर्जुन पाठकका ज्वाइँ नाता पर्ने जिसी पार्टीको केन्द्रीय सदस्य मात्र छैनन्, प्रधानमन्त्री कार्यालयको जनसम्पर्क सचिवालयमा कार्यरत छन् । 

यसो हेर्ने हो भने दाहालसँग नातेदारी जोडिनेबित्तिकै अवसर हात पार्न सजिलो भएको देखिन्छ । प्रधानमन्त्री दाहाल परिवारवादमा बहकिँदै गर्दा यता माओवादी भने पतन हुँदै गएको छ । 

प्रचण्डमा देखिएको परिवारवाद र अन्धाधुन्ध गर्ने निर्णयले माओवादीका कार्यकर्तालाई चित्त नबुझेको हुन सक्छ । प्रचण्डको पहिलेको नाम ‘छविलाल’ हो । हो, अहिले माओवादीमा त्यही स्वच्छ छविका छविलालको खोजी भइरहेको छ । माओवादीका कार्यकर्तालाई परिवारवादी भावुक पुष्पकमल दाहाल होइन, लाल आन्दोलनको मर्मलाई आत्मसात् गर्ने स्वच्छ छविका छविलाल चाहिएको बुझ्न कठिन छैन ।
 

  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १७:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया