कुशलको अलराउन्ड प्रदर्शनमा पिएनजीलाई हराउँदै नेपाल फाइनलमा
फाइल तस्बिर

नेपाल हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ८५ रनले हराउँदै नेपाल तीन अंकसहित फाइनलमा प्रवेश गरेको हो । 

पहिलो खेलमा वर्षा बाधक बनेपछि नेपालले हङकङसँग अंक बाँडेको थियो । नेपालले अब सिरिजको फाइनलमा मंगलबार नै हुने हङकङ र पिएनजीबीचको विजेता टिमको सामना गर्नेछ ।

लिग चरणमा आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा १ सय १३ रनमै अलआउट भयो । उसका लागि हिरी हिरीले २८, सेसे बाउले २१, टोनी उराले १३ र नोसैना पोकनाले १२ रन जोडे ।

पिएनजीलाई सस्तैमा समेट्नेक्रममा पार्ट टाइम बलर कुशल भुर्तेलले घातक बलिङ गरे । उनले ४ ओभरमा १२ रन मात्र दिएर महत्वपूर्ण ४ विकेट लिए । टी–२० आईमा कुशलको यो करियरकै उत्कृष्ट बलिङ हो । यस्तै, प्रतिश जिसीले दुई, गुलशन झा र आकाश चन्दले एक/एक विकेट लिए । नेपाललाई दुई विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।   



त्यसअघि मोंगकोकस्थित मिशन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले ।

कुशलले ३९ बलमा चार छक्का र चार चौकासहित ५९ रनको इनिङ खेले । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो । योसँगै कुशलले यस ढाँचामा १ हजार रन पूरा गरेका छन् । 



उनी टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । यसअघि यो उपलब्धि दीपेन्द्र सिंह ऐरीले हासिल गरिसकेका छन् । यस्तै, मध्यक्रमका ब्याटर सन्दीप जोराले २६ बलमा चार छक्का र तीन चौकासहित ५६ रनको पारी खेले ।

टी–२० आईमा जोराको यो करियरकै उच्च स्कोर हो । त्यस्तै, यस ढाँचामा उनको यो दोस्रो अर्धशतक हो । त्यस्तै, विवेककुमार यादवले चार बलमा तीन छक्कासहित अविजित १९ रनको आक्रामक पारी खेले ।  

विनोद भण्डारीले २७, गुलशन झाले अविजित १५ र लोकेश बमले १४ रन जोडे । पिएनजीका लागि  कप्तान असद भालाले ३ ओभरमा १८ रन दिएर सर्वाधिक दुई विकेट लिए । 

  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ९:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया