logo-img

नाउपामा श्रीमान्-श्रीमतीबीच विवाद, रेशम भन्छन्, ‘यो घरझगडा होइन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयले नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा श्रीमान्–श्रीमतीबीचमै विवाद भएको छ । सो पार्टीकी अध्यक्ष एवं प्रचण्ड सरकारकी पूर्वमन्त्री रञ्जिता चौधरी र पार्टीका संरक्षक रेशम चौधरीबीचको विवाद बुधबार छरपस्ट भएको हो । 

रेशम र रञ्जिता श्रीमान्–श्रीमती हुन् । टीकापुर घटनापछि जेलमा रहेका बेला रेशमले जेलबाटै निर्देशन गरेर श्रीमती रञ्जितालाई अध्यक्ष बनाएर पार्टी खोले । चुनाव जितेर नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा निर्णायक भूमिकामा छ भने संघमा पनि नागरिक उन्मुक्तिका चार सांसद छन् ।

श्रीमती सरकारमा मन्त्री भएकै बेला सरकारबाट सजाय माफी पाएर जेलबाट छुटेका रेशम पछिल्लोपटक पार्टीको महाधिवेशन गरेर पार्टी अध्यक्षसमेत चुनिएका थिए । तर, निर्वाचन आयोगले महाधिवेशनको निर्णय खारेज गरेर पुरानै कार्यसमितिलाई निरन्तरता दिएपछि अहिले रञ्जिता नै पार्टीको नेता छिन् । 

रञ्जिता कांग्रेससहितको गठबन्धन सरकार हुँदा भूमि व्यवस्था तथा सहकारीमन्त्री थिइन् । अहिले फेरि गठबन्धन सरकारमा सामेल हुने वा विपक्षमा बस्ने भन्नेबारे रेशम र रञ्जिताबीचमै विवाद चर्किएको हो । रेशमले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नहुने दाबी गरेका छन् भने रञ्जिताले संघीय सांसदलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् । 

उता रेशमले केन्द्रीय समितिका बहुमत सदस्यको बैठक राखेर विश्वासको मत नदिने निर्णय गराएका छन् । श्रीमान्-श्रीमतीको झगडाले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । 

‘फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।  



यद्यपि, संरक्षक चौधरी पक्षका पार्टी उपाध्यक्ष दामोदर पण्डितले विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न भन्दै विज्ञप्ति निकालेका छन् । प्रदेशको हकमा भने विभिन्न दलसँग वार्ता गरी सहकार्य गर्न कार्यदल बनाइएको छ । कार्यदलका संयोजक पण्डित तोकिएका छन् । 

‘केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने, सरकारलाई समर्थन नदिने र प्रदेश सकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय भएको छ,’ विज्ञप्तिमा पण्डितले भनेका छन् ।



पार्टीका संरक्षक चौधरीले पार्टीमा देखिएको विवाद घर झगडा मात्रै हुँदै नभएको दाबी गरेका छन् । ‘आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ,’ रेशमले फेसबुकमा लेखेका छन्, ‘यो विषय घर झगडा हुँदै होइन, विषय राजनीतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’

  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १०:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया