logo-img

राजस्व छली गरेको आरोपमा विभिन्न फर्म र व्यवसायीविरुद्ध ७९ करोड मागदाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड रुपैयाँ बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । 

विभागले उनीहरूविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ करोड रुपैयाँभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ ।  

उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा १२ करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगो बराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी सोमबार मुद्दा दर्ता गरिएको हो । 

उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विवरणहरूको विश्लेषण गर्दा वि.सं २०७९ भदौ देखि २०८० भदौसम्ममा भिसिटिएस प्रणालीमा प्रविष्टि गरेको विवरणमा ६ लाख ४९ हजार ४ सय रुपैयाँ बराबरको मालवस्तु खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापनपत्रलगायतका अन्य विश्वसनीय स्रोतबिना नै करोडौंका मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताए । 

उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले बताएको छ । यस्तै, अन्य प्रतिवादी गुरु इम्पेक्सका प्रोपाइटर सीताराम रौनयार, शुभश्री इन्टरप्राइजेजका रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका मीराकुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रभुशङ्कर रौनियार न्यु एसकुमार इन्टरनेशनलका  रामछत्री कलवारले गरेको कारोबारका सम्बन्धमा छानबिन गर्दा राहुल दुवेदीसहितका ती फर्मका प्रोपाइटरहरु तथा भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा ठूलो परिमाणको मालवस्तु भन्सार छली मालवस्तु नेपाल भित्र्याई चोरीपैठारी गरेको पाइएको विभागको निष्कर्ष छ ।

विभागले प्रयोगमा ल्याएको भिसिटिएस प्रणालीमा राहुलकुमार दुवेदीले प्रविष्ट गरेको विवरण र आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त भ्याट रिटर्न अनुसन्धान तथा विश्लेषणमा विभागले उक्त तथ्य पत्ता लगाएको हो ।



भन्सार छली तथा मालवस्तु चोरी पैठारीको आरोपमा विभागले राहुलकुमार दुवेदीको हकमा १७ करोड ३८ लाख, सीताराम रौनियारको हकमा १ करोड ८२ लाख, रिजवान अन्सारीको हकमा २ करोड ११ लाख, मीराकुमारी श्रीवास्तवको हकमा २ करोड ११ लाख, प्रभुशङ्कर रौनियारको हकमा १ करोड ७८ लाख र रामछत्री कलवारको हकमा १ करोड ७७ लाख रुपैयाँ बिगो बराबरको भन्सार छली गरेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । रासस 



  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १०:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया