logo-img

थारू समुदायमा होली : आगो भित्र्याए, खरानीको रङ्ग लगाइदिए

शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी ल्याएर घर आएका छन् । 

होलीको रङ लगाउनुअघि उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए । 

होलिका जलाउने कार्यलाई थारू भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ । वर्षौं पुरानो यो चलन थारु समुदायमा पुस्तान्तरण हुँदै अहिले पनि रहिआएको मनिरामले बताए । होल्का जलाएको खरानी घरपरिवारमा प्रसादका रूपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा यहाँका थारू समुदायमा रहेको उनले जानकारी दिए ।

आइतबार साँझ मनिरामलगायत गाउँका थारू समुदायले देउथानमा होलिका जलाउने कार्य गरेका थिए । जल्दै गरेको होलिकाबाट गुइँठामा आगो ल्याएर घरमा नयाँ आगो भित्र्याइएको मनिरामले बताए ।

‘हिजो बिहानै वरघरको घरमा जम्मा भयौँ’, उनले भने, ‘तेल, गुड, ल्वाङ र गहुँको पिठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे (एकातर्फ मात्रै पाकेको) रोटी पकायौँ । बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङ्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ ।’

नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको मनिरामले बताए । उनका अनुसार देउथानमा बालेको नयाँ आगो घरघरमा भित्र्याउने चलन थारू समुदायमा छ । होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने जनविश्वास रहेको उनले बताए ।



‘सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारू गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन् । यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्’, स्थानीय गहनु चौधरीले बताए । 

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिएको उनले बताए । आगो लगाउन आएका सबैलाई रोटी र गुड प्रसादका रूपमा समान बाँड्ने चलन रहेको उनले जानकारी दिए । 
 
घरघरमा आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने चौधरीले बताए । होलीका जलाएको ठाउँमा आज गाउँका महिला तथा पुरुषले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र उक्त ठाउँ सफा गरेका छन् । 



घर परिवारमा खरानीको टीका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुसीयाली साटासाट गर्ने र होली खेल्ने काम भइरहेको जोनापुर गाउँका भलमन्सा सुरेश चौधरीले बताए । ‘यतिबेला एक अर्कामा रङ लगाउँदै ढोगसलाम गर्ने काम भइरहेको छ’, उनले भने, ‘रमाइलोका लागि विगतको जस्तो हिलो छ्याप्ने कामलाई निरुत्साहित गर्दै आएका छौँ ।’

रङ लगाएर रमाइलो गर्ने, नाचगानसहित खुसीयाली साटासाट गर्ने प्रक्रिया भोलिसम्म जारी रहने चौधरीले बताए । होलीका अवसरमा गाउँका मान्यजनबाट रङको टिका लगाउने र आर्शीवाद लिने चलन पनि थारू समुदायमा रहेको उनको भनाइ छ ।  

  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १३:४३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया