logo-img

वीरगञ्ज भन्सारद्वारा ८ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशत मात्र राजस्व सङ्कलन

मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।  

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालू आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताए । ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालू आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ’, उनले भने, ‘चालू आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’ 

भन्सार कार्यालयले सरदर दैनिक ४० करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताए । यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलासिता शुल्क उठाउँदै आएको छ । 

भन्सार विभागले चालू आवमा कार्यालयलाई २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार साउनमा ११ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

भदौमा १२ अर्ब ७१ करोड, असोजमा १४ अर्ब २७ करोड, कात्तिकमा १० अर्ब ३२ करोड, मङ्सिरमा १२ अर्ब ८२ करोड, पुसमा १२ अर्ब ७४ करोड, माघमा ११ अर्ब ८३ करोड तथा फागुनमा १३ अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

आव २०७९/८० को आठ महिनाको अवधिमा १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा १ खर्ब एक अर्ब ५३ करोड ८० लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक पन्थीले जानकारी दिए । रासस 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १४:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया