logo-img

कार्यकर्तासामु गगन थापाको दाबी- इलामको उम्मेदवार चयन काठमाडौंको गोप्य कोठामा हुँदैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् ।

‘इलाममा उम्मेदवार बन्न आकाङ्क्षा राख्ने नेताहरूमा बहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापतिलगायत सात जना हुनुहुन्छ । उम्मेदवार छान्ने बेलामा सानेपाको पार्टी कार्यालयमा हामी सीमित व्यक्तिले छान्ने प्रक्रिया नै गलत छ । एक जना छान्दा अरूलाई अन्याय भयो भन्ने लाग्छ । कि भारतीय जनता पार्टीले जस्तो सर्भे विधिमा जानुपर्‍यो । चुनाव भन्दा अघि एउटा टिम पठाएर सर्भे गर्ने विधि अपनाउनुपर्‍यो । सर्भेले अलोकप्रिय ठहर्‍याएको व्यक्ति टिकट नपाउने व्यवस्था हुनुपर्‍यो । होइन भने जिल्लाकै साथीहरूले निर्णय गर्नुपर्छ । नत्र पार्टीको विधि र विधान अनुसार हुनुपर्छ,’महामन्त्री थापाले भने । 

शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तु लबनीमा खुला संवाद कार्यक्रममा बोल्दै इलामको उम्मेदवार काठमाडौंमा चयन गर्नु गलत भएको बताए । महामन्त्री थापाले भने,‘भोलि चुनाव जिताउने बेलामा उहाँहरू सबै जुट्नुपर्छ । उहाँहरू नै हो खट्नुपर्ने । त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरूलाई जिम्मेवारी दिनुपर्छ । इलामको उम्मेदवार इलामले नै चयन गरोस् र जिताओस् ।’

आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ । अन्य सबै राजनीतिक दलहरूले उम्मेदवारको छिनोफानो गरेर चुनावी अभियान सुरु गरे पनि कांग्रेसले आधिकारिक उम्मेदवार चयन गर्न सकेको छैन । गत भदौमा एमाले उपाध्यक्ष एव उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य नेम्वाङको निधन भएपछि उप निर्वाचन हुन लागेको हो । 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १४:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया