उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ, जित सुनिश्चित छ : ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । 

नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो । सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे । 

प्रतिस्पर्धा गर्नसक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि त्यस्तो अवस्था नरहेको उनले बताए । 

‘इलाम क्षेत्र नम्बर २ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौं । त्यतिबेला कांग्रेसका उम्मेदवार हामीसँग झण्डैझण्डै सिंगौरी खेल्न पुगेको थियो । माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो कांग्रेस । त्यतिबेला हामीले हराइदिएका थियौँ,’ उनले भने, ‘अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन । हामी जित्छौं ।’ 

त्यस्तै, बझाङ पनि प्राविधिक हिसाबले मात्रै हारेको उनले दाबी गरे । ‘त्यहाँ समाजवादी पार्टीको भोट, माओवादी पार्टीका भोटले त्यहाँ कांग्रेसले जितेको थियो । आफनै बलमा, आफ्नै तागतमा होइन,’ उनले थपे, ‘हामीले १३ हजार ६ सय ल्यायौं । उनीहरुले १६ हजार ३ सय ल्याए । ४ हजार माओवादीको छ । १६ हजारमा ४ हजार घटाइ दिनुस् । १२ हजारमा आयो । समाजवादी पार्टीको २ हजार छ । त्यो घटाइ दिनुस् १० हजारमा आयो । मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने काग्रेस जिताउन मिल्दैन ।’

एमलेभन्दा माओवादी पार्टी धेरै भोट लिएर त्यो पोजिसनमा हुन्थ्यो भने एमालेले खुला दिलले माओवादीलाई समर्थन गर्ने उनको भनाइ थियो । ‘तर माओवादीको ४ हजार छ । हामी १३ हजार छौं । साँढे १३ हजारभन्दा बढि छौं हामी । त्यसकारण हामीले छोड्न मिल्दैन,’ उनले भने, ‘गणितले स्पष्ट देखाउँछ–हामी यसपटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौँ पुग्छौँ । काँग्रेस १० हजारमा झर्छ । त्यो स्पष्ट छ ।’



अध्यक्ष ओलीले त्यस अवसरमा आन्तरिक किचलो नगरी निर्वाचन प्रचार जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 



  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १८:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया