शोकाकुल पौवाखेत : शंकरलाई क्यान्सरले खायो, परिवार र आफन्तलाई त्रिशूलीले

गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शंकर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिंगो परिवार शोकमा परेको थियो । 

उपचारका क्रममा राजधानी काठमाडौंमा निधन भएका शंकरको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौं गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा पुगे । 

अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीनवटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थिइन् । घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन ।

निकैबेर प्रतीक्षापछि पनि गाडी नआएपछि अनेक शंकाउपशंका बढ्दै गयो । मुग्लिन पुगेका आफन्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात पर्यो ।

घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँचजनाको शव निकाल्यो । घटनामा परेका एकजना अझै बेपत्ता छन् । क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकीकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कने छैनन् । 

जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, नौ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा) भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । 



दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन भएका शंकरका छोरा हुन् ।

मृतक पाँचैजनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी रोका परिवारमा पाँचजनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुबेको छ । 



अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरुसमेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १९:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया