logo-img

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन् । 

ठमेलका घरधनीको आज बसेको बैठकले ठमेललाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विशम्भरलाल प्रधानले ठमेललाई २४ सै घण्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रका समस्याबारेमा अध्ययन गर्नुपर्ने बताए । उनले कति क्षेत्रलाई ठमेल मान्ने भन्नेबारे पहिले यकिन गर्नुपर्ने उल्लेख गरे । 

ठमेलका स्थानीय सोजेशमान मालाकारले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरबेटीलाई नसमेटेको भन्दै दुःख व्यक्त गरे । उक्त निर्णयले रातको समयमा यहाँका बासिन्दालाई सुत्न समस्या हुने उनले बताए । 

काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयवासीलाई समस्या हुने गरी २४सै घण्टा ठमेललाई खुला गर्न समस्या हुने बताए । उनले २४सै घण्टा बजार खुलाउन आवश्यक मापदण्ड के हुन् भन्नेबारे पहिले यकिन हुनुपर्ने उल्लेख गरे । 



जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । यस्तै, रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रिकालीन समयमा सञ्चालित बजार क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाबारेमा मापदण्डमा समेटेको छ । मापदण्ड बमोजिम कार्य भए–नभएको विषयमा अनुगमन, समन्वय तथा सहजीकरण नियमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली बनाउने उल्लेख गरेको छ ।



बजार क्षेत्र व्यवस्थापन समिति, व्यवसायस्थलको सरसफाइ, यातायातको व्यवस्था, गुनासो प्राप्ति र सम्बोधन, श्रमिकको उजुरी एवं कारबाहीलाई आचारसंहिता तथा मापदण्डमा राखिएको छ ।

  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार २१:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया