logo-img

२० वटा घडियाल गोही राप्ती नदीमा छाडियो
फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।

प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो । 

त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले बर्सेनि बाढीको समय घडियाल गोही बगेर भारत जाने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । उनले घडियाल गोही भरतपुर तथा चितवन र नवलपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने बताइन् । महानगर प्रमुख दाहालले प्रजनन केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक आउने गरेकाले अनुसन्धानको थलो बनेको बताइन् । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले घडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिए । घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेशमा र म्यानमारमा करिब १० हजारको सङ्ख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो सङ्ख्या सङ्कटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा उनको जोड छ । 

गोही संरक्षणका लागि २०३० सालमा स्थापना भएको प्रजनन केन्द्रले अण्डा सङ्कलन गरी वार्षिक दुई सय बच्चा उत्पादन गर्ने गरेको पुनले जानकारी दिए । निकुञ्जका अनुसार प्रजनन केन्द्रमा हुर्किएका १ हजार ९ सय १७ वटा गोही नदीमा छाडिएका छन् । रासस  





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार ८:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया