पार्टीको आदेशमा पुरानै तरिकाले राजनीति चल्ने वाला छैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ले नेपालमा राजनीतिक दलहरूको अनुशासन लागू गर्ने समय नभएको बताएका छन् ।

सोमबार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताएका हुन् । उनले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए । 

उनले भने, ‘कुनै पार्टीको अनुशासनले कसैलाई छेक्ने वाला छैन अब । सबैले बुझ्नुपर्छ । पार्टीको अनुशासन लागु गर्ने समय अब नेपालमा छैन । पार्टीको आदेशमा पुरानै तरिकाले राजनीति चल्ने वाला छैन । सब मान्छे तरंगित छ अहिले नेपालमा । सहरको बुद्धिजिवीदेखि मध्यमवर्ग, व्यवसायीदेखि लिएर गाउँसम्मको सामान्य किसान पनि नयाँ चिजको प्रतीक्षा र खोजीमा दौडिरहेको छ ।’ 

पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे । उनले जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताए । महासचिव चन्दले एक्लै एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको बताए । उनले एकताबद्ध भएर देशलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले भने, ‘हामीले आँट गर्नुपर्छ, एक्लै एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने मात्रै होइन कि अगाडी बढ्न चाहाने सबै जनताको बिचमा मार्क्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभए जस्तै खुल्लम खुल्ला घोषणा गर्न सक्नुपर्छ । दाबी गर्न सक्नुपर्छ । नेपालको अग्रगमन के हो ? रुपान्तरणको आन्दोलन के हो ? नेपाली जनताको मुक्ति कसरी सम्भव छ भन्ने कुरामा कुन विचार, व्यवस्था, कार्यदिशाबाट यो कुरा भन्ने बेला भएको छ । भन्न कुनै डराउनुपर्ने कुराहरू छैन । यो बहस नेपालमा आवश्यक भएको छ । हामी एक्लै सही हौँ भनेर दाबी गर्ने छुट हामीलाई छैन । हामीले तिन करोडलाई अहिले जो क्रान्तिको खोजी भएको छ, हामीले भन्ने बेला भएको छ । हामी यसरी अगाडी बढ्न, यसरी निकास दिन चाहन्छौँ भन्ने कुरा भन्ने बेला भएको छ । हामी तयार भएका छौँ ।’

महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरूले माथि उठाउने बताए । उनले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताए । उनले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने पनि बताए । 



उनले भने, ‘कम्युनिस्ट पार्टीको रातो झण्डालाई अझै हामीले उठाउनुपर्छ । माथि उठाउनुपर्छ र नेपालमा वैज्ञानिक समाजवाद, साम्यवादको महान् उद्देश्य पूरा नभएसम्म यसलाई निरन्तर अगाडी बढाउनुपर्छ । त्यो बढाउनेमा आज एकीकृत जनक्रान्तिको नेतृत्व गर्न पाइरहेको नेतृत्वको नाताले म प्रतिबद्धता गर्न चाहन्छु यो झण्डा कहिल्यै पनि झुक्न दिइने छैन । क्रान्तिको झण्डालाई कहिल्यै झुक्न दिइँदैन । त्यो दायित्व हामीसँग छ । यसलाई अन्तिमसम्म फहराइने छ । केवल नेपालमा मात्रै होइन, श्रमिकहरूको रातो झण्डालाई नेपालमा मात्रै फहराउने होइन विश्व भरी फहराउने कम्युनिस्टहरूको सपना छ, नेपालबाट त्यसलाई मजबुत ढंगले उठाइरहनुपर्छ ।’

महासचिव चन्दले आफूहरूले जनताको सेवक बनेर काम गर्ने बताए । उनले चुनावको अधिकार प्रयोग गरेर मात्रै जनताको सेवा नहुने भन्दै चुनाव बाहिर बसेर पनि निरन्तर जनताको सेवा गर्न सकिने बताए ।  



  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १७:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया