logo-img

यी हुन् आजका ११ समाचार

.सरकारलाई कांग्रेसको चेतावनीः कांग्रेसले बाध्य भएर संसद अवरुद्ध गर्न नपरोस्

नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा काँग्रेस पछि नहटेको बताएकी छिन् । सोमबार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको उनको भनाइ छ । उनले  सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्ने गरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताइन् । 

सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताइन्् । काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने उनको भनाइ छ । 

दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने उनले चेतावनी दिइन् । उले बजेट विगतको परिपाटी भन्दा फरक तरिकाले ल्याइनुपर्ने बताइन् । 

२. शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न सांसदहरुको माग



राष्ट्रिय सभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । सोमवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरुले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । 

उनीहरुले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिए । उनीहरुले सांसदहरुका आफ्नाआफ्ना चाहनाअनुसार बजेट माग गरेपनि प्राथमिकताका आधारमा मात्रै बजेट छुट्याउन आवश्यक रहेको बताए । 



परम्परावादी बजेटलाई ब्रेक गरेर अघि बढेमात्रै शिक्षा क्षेत्रमा परिवर्तन गर्न सम्भव रहेको बताए । समितिको बैठकमा बोल्दै नकेपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले नयाँ आवमा शिक्षामा धेरै छुट्याउन आवश्यक रहेको बताए । पुरानो र परम्परावादी बजेटबाट शिक्षा क्षेत्रमा सुधार गर्न सम्भव नहुने जिकिर गरे । निजी, सरकारी विद्यालयहरुको पाठ्यक्रम एउटै बनाउन आवश्यक रहेको उनले बताए । 

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद इन्दिरा गौतमले शिक्षा विकासका मेरुदण्ड रहेकाले पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको बताइन् । 

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले बाल विकासका शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गरिन् । उनले बालबालिकाहरुको स्याहार गरेर बस्ने शिक्षक शिक्षिकाहरुको पारिश्रमीक पनि बढाउन आवश्यक रहेको उल्लेख गरिन् । 

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले शिक्षा कुनै पनि देशको आर्थिक, सामाजिक विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेकाले शिक्षामा आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । बजेट राखेर मात्रै नहुने भन्दै उनले कार्यान्वयनमा पनि जोड दिन सुझाव दिए । 
 
३. नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताको बिजारोपण भइसक्योः सांसद यादव

जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताको बिजारोपण भइसकेको बताएका छन् । सोमबार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् । 

विचार, सिद्धान्त वा मान्यता भन्दा स्वार्थ हाबी हुँदा नेपालमा गठबन्धन बन्ने र भत्किने स्थिति बनिरहेको बताउँदै उनले विचार, सिद्धान्त च्युत भएपछि स्वार्थ हाबी हुने बताए । 

पछिल्लो चरणमा नेपालको राष्ट्रिय राजनीति सकारात्मक दिशाबाट अघि नबढेको जिकिर गर्दै उनले केन्द्रमा गबठन्धन फेरिँदाको असर प्रदेश तहमा पनि देखिरहेको भन्दै यसले राम्रो सन्देश नदिएको बताए । अहिलेको परिवर्तन एक प्रकारको राजनीतिक भागबण्डाको लडाइँ मात्रै भएको उनले बताए ।  

४. विश्वविद्यालयमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैनः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छिन् ।

सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उनले यस्तो बताइन् । विद्यालय र विश्ववद्यालयबाट दलीय राजनीति अन्त्य गर्नको लागि आफूले काम थालिसकेको उनले बताइन् । 

शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने उल्लेख गरिएको भन्दै आफूले सोही ऐनअनुसार काम अघि बढाइसकेको बताइन् । शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउनसके सरकारले अघि बढाएका कार्यक्रमहरु सफल हुने मन्त्री श्रेष्ठको विश्वास छ । 

५. अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्ः प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताउँदै उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे । 

अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै उनले सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए । 
१० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको उनले बताए । मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध रहेको उनले बताए । 
 
६. १४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशिघ्र खोल्न चीन पक्ष तयार भएको बताएक छन् । 

चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथशिघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको बताए । 

यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको उनले बताए । नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उनले बताए । 

बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको उनले जिकिर गरे । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेकोमा चीन पक्षले सकारात्मकता देखाएको उनले बताए ।  

७. गाजाको अस्पतालमा इजरायली आक्रमणः ४ जनाको मृत्यु, १७ घाइते

मध्य गाजापट्टीको अल–अक्सा अस्पतालमा आइतबार इजरायली बमबारीमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएको प्यालेस्टिनी प्रत्यक्षदर्शी र स्रोतहरूले बताएका छन् । 

प्रत्यक्षदर्शीहरूले ड्रोनले डेर अल–बालाह शहरको अल–अक्सा अस्पतालको आँगनमा रहेका व्यक्तिहरुमाथि मिसाइल प्रहार गरेको बताए । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले आक्रमणमा चार जनाको ज्यान गएको र दुई पत्रकारसहित अन्य १७ जना घाइते भएको बताए ।

८. राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण

राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण गरेका छन् । 

सभामुख देवराज घिमिरेले सोमवार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाए । 
राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते सो विधेयक राष्ट्रपति पौडेलले संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रणाणीकरण गरिएको उल्लेख गरिएको छ ।

संघीय संसदको दुवै सदनले पारित गरेको पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानूनको रुपमा लागू गर्ने संवैधानिक व्यवस्था छ ।  

९. सरकारले रुसी सेनामा कार्यरत नेपालीलाई खोज्ने प्रयत्न नै गरेनः काँग्रेस सांसद पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरुको खोज्ने प्रयत्न समेत नगरेको बताएका छन् । रुसमा नेपाल आउने चाहनमा तडपिएर बसेका नेपालीहरुलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भिर नभएको सांसद पौडेलको भनाइ थियो । 

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले ती नेपालीहरुलाई नेपाल ल्याउन प्रयास किन नगरेको भनी सरकारलाई प्रश्न समेत गरे । करिव ३ सय बढी रुसी सेनामा कार्यरत नेपालीहरु बेपत्ता भएको तथ्यांक आफूले पाएको उल्लेख गर्दै सांसद पौडेलले त्यसको खोजी गर्न समेत सरकारले पहल नलिएको जिकिर गरे । 

उनले युक्रेनी सेनामा पनि नेपालीहरु रहेको कुरा युक्रेनले सार्वजनिक गरेको भन्दै त्यसप्रति पनि सरकारले चासो नदिएको बताए । 

१०. नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन् । सोमबार पार्टीले काठमाडौंमा आयोजना गरेको सहिद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताए । 

कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने उनले बताए । पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे । जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने उनले बताए । 

महासचिव चन्दले एक्लैएक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको बताए ।, एकतावद्ध भएर देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने बताए । उनले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताए । 
 
११. मधेसमा एसईई परीक्षामा चिट चोराइएको विषयको दोष सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा एसइईमा चिट चोराइएको र आममधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरे । 

सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै उनले चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताए । सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए । परिक्षालाई आवश्यक पद्धति र कडाइका साथ परिक्षा गर्न आग्रह गर्दै उनले मधेसलाई दोष नदिन आग्रह गरे । 

  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार २१:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया