logo-img

धरानमा फस्टाउँदै सुकुटीको व्यापार

धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन् । फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताइन् । 
    
हरेक बिहानको ७ बजे उनी घरबाट निकेतन गल्ली आइसक्छिन्। सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ । बिहानदेखि बेलुका साढे आठ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । 

तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउँछिन्  अनि आफैँ सुकुटी बनाउँछिन् । त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ । आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उनले बताइन् । निकेतन गल्लीमा सुकुटी बेच्दैँ भेटिएकी उनले भनिन्, ‘अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन् ।’

तामाङले यसरी सुकुटीको व्यापार गर्न थालेको सात वर्ष बितिसक्यो । यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उनले बताइन् । सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उनको अनुभव छ । मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताइन् । पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाइ छ । उनले भनिन्, ‘मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ । दुःख गरेको खेर जाँदैन ।’

ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताइन् । उनका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् । 

धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्छिन् । उनका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ । सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाइ छ ।



सुकुटीको अचार प्रतिकेजी १२ सयदेखि १६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिइन् । सुकुटीसँगै अचार बिक्री गरेर दैनिक २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उनको भनाइ छ । सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनुभएकी गिरीले भनिन्, ‘मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ ।’

धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् । उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् । 



धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरूको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन् । धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन् । बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन् । सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भनिन्, ‘एउटै पसलबाट २५/३० हजार रुपैयाँको व्यापार हुन्छ । सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि ।’ 
    
विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ । व्यापारी गिरीले भनिन्, ‘बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन । व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ ।’ 

  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १६:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया