उद्योगमन्त्री भण्डारीको दाबी : नेपाली पुँजी पलायन हुन दिँदैनौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताएका छन् । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहमा उनले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिइएको बताए । 

‘नेपालको पूँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आव्हान गरेका छौँ, बाह्य पूँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौं,’ विष्टले भने । 

मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तीव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताए । उनले लगानी सित सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेका जानकारी गराए । 

लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ संकल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमान सित नबाझिने गरेर वैदेशिक लगानी भित्र्याइने बताए । उनले नेपालमा पर्यटन, उर्जा तथा अन्य स्वदेशी वस्तुको प्रयोग गरेर उद्योग सञ्चालनको वातावरण राम्रो रहेको बताए ।  

जनतामा रहेको निराशालाई चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको दोहोर्याउँदै उनले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले उत्पादन भएका वस्तुले बजार नपाउँदा र पूँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा चिन्ता व्यक्त गरे । 

चालू अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको उनको भनाइ छ । तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्ने सङ्घ सरकार अघि बढेको मन्त्री भण्डारीले बताए ।   





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १८:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया