गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । 

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए । 

नेता अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको उनको भनाइ छ । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । 

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए । 

समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएका थिए । 

तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा अनिर्णित छ । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १२:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया