logo-img

नेपालले जित्यो मैत्रीपूर्ण क्रिकेटको उपाधि

भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो ।  
     
गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइफ मैदानमा आज भएको फाइनल खेलमा नेपालले टस जितेर  पहिला ब्याटिङ रोजेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनायो । नेपालले दिएको एक सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनाउन सक्यो । 

नेपालका ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । यसक्रममा उनले ४७ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ तथा कुशल भुर्तेलले १९ रन बनाए ।
    
बलिङतर्फ गुजरातका जयमित पटेल, स्नेह पटेल, तेजास पटेल र जाला युवराजसिंहले एक एक विकेट लिए । गुजरातका लागि ब्याटिङ गर्ने क्रममा कप्तान उमङ्ग रोहितकुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै आर्य देसाईले ३६, रुद्र पटेलले १७, हर्ष देसाईले १५ तथा जयमित पटेलले १५ रन जोडे ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक-एक विकेट लिए ।





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १८:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया