logo-img

मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

सरकारले संघीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।  

 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकको उक्त निर्णय गरेको आज सिंहदरबारमा सञ्चारकर्मीलाई जानकारी दिइन् । अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट नौ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णयसमेत भएको उनले बताए । 

बैठकले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकामा सो को सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको छ । यस्तै, प्राविधिक प्रहरी समुन्नततर्फको प्रहरी नायब महानिरीक्षक विशेष दुई पद सिर्जना गर्ने सरकारले निर्णय गरेको छ ।     

यसैगरी संयुक्त राज्य अमेरिकाको सान डिएगो, क्यालिफोर्नियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत ऋषि पुनाखर ढकाल र जर्मनीको नर्थ राइन, वेष्टफालिया ब्रेमेन र लोअर स्याक्सोनी क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको पदावधि थप गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।  
    
दैलेखको नारायण नगरपालिकालाई फोहरमैला संकलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको तीन हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । यस्तै, मकवानपुरको मनहरी गाउँपालिकालाई मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न राष्ट्रिय वनको शून्य दशमलव दुई हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।  
     
मुगुको छायाँनाथ रारा नगरपालिका, डोटीको आदर्श गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, रौतहटको परोहा नगरपालिलका र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई विभिन्न परियोजना सञ्चालन गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।   

यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा प्रा.डा. पशुपति चौधरी र सदस्यमा डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्यमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्नेसमेत बैठकले निर्णय गरेको छ । 
    
मन्त्रिपरिषद् बैठकले नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली, २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने र ठूला आयोजना कार्यान्वयन अनुगमन तथा सहजीकरण निर्देशिका, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । 

यस्तै, बैठकले नेपाल सरकार र अन्य मुलुकबीच गरिने द्विपक्षीय लगानी सम्झौताको नमुना ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय तथ्यांक कार्यालयको सचिव तोयम राया र नेपाल वनसेवा, फरेष्ट रिसर्च समूहका सहसचिव सावित्री अर्यालको राजीनामा स्वीकृत गरेको मन्त्री शर्माले जानकारी दिइन् । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २०:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया