logo-img

राप्रपाले निषेधित क्षेत्र उल्लंघन गर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही मंगलबार गर्ने जनप्रदर्शनमा घोषणा भएको निषेधित क्षेत्रको पालना नगर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले निषेधित क्षेत्र घोषणा प्रजातन्त्र​को भावना र संविधानविपरीत भन्दै राप्रपाले विरोध र उल्लंघन गर्ने बताए । 

उनले भने,‘हामी त्यो निषेधित क्षेत्रहरु मान्दैनौँ । अहिले जुन निषेधित क्षेत्र घोषणा गरेको छ, त्यो प्रजातन्त्रको भावनाविपरीत र अहिलेकै संविधानको मर्मको पनि विपरीत छ । भेला भएर शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधानले दिएको जनताको अधिकार हो । विचार स्वतन्त्रता प्रदर्शन स्वतन्त्रतालाई निषेधित गर्ने कुराको राप्रपाले विरोध गर्छ । र, त्यसको उल्लंघन गर्छ ।’

राजादेखि माओवादीसम्म अब सबै राजनीतिक दल र शक्ति अटाउने नवीन समझदारी गरी नयाँ व्यवस्था सम्झौतामा आउने उद्देश्यले प्रदर्शन गर्न लागेको उनले जिकिर गरे । प्रदर्शनले दलमा परिवर्तन आएन भने आन्दोलनलाई बिभिन्न स्वरूपमा निरन्तर अगाडि बढाउने उनले बताए । 

उनले भने,‘सबैले आफ्ना गल्ती कमजोरी महसुस गरेर अब राजादेखि माओवादीसम्म, सबै राजनीतिक दल र सबै शक्ति अटाउने एउटा नवीन समझदारी गरेर देशलाई पहिलेको व्यवस्थामा पनि फर्काउने होइन, यहीँ पनि राखिराख्न सकिँदैन । पहिलेका र अहिलेका समेत राम्रो कुरा समेटेर नयाँ व्यवस्था सम्झौतामा जाऔँ भन्ने हिसाबले दबाब सिर्जना गर्न २७ गते प्रदर्शन गर्न लागेको हो । यसले पनि उहाँहरूमा परिवर्तन आएन भने हामीले आन्दोलनलाई फेरि निरन्तर रूपमा विभिन्न स्वरूपमा अगाडि बढाउँछौँ ।’

आन्दोलनमा ५०औँ हजारको जनसहभागिता रहने उनको दाबी छ । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २०:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया