राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सोमबार टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा सहभागी भएका छन् । समारोहमा सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको पनि उनले अवलोकन गरे ।

सो अवसरमा घोडा दौड, जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो । समारोहमा उपराष्ट्रपति राजसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । 

कलाबाजीसँगै सेनाका विभिन्न प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार हस्तान्तरण गरेका थिए । घोडेजात्राका दिन उपत्यकामा सार्वजनिक बिदा दिने गरिएको छ ।

 चैत्र कृष्ण औंशी तिथिमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ । यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसात गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानि गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन छ । 



घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने र बालबालिकामाथि खतरा नहुने जनविश्वास रहिआएको छ । घोडेजात्राकै दिन  काठमाडौंको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ ।

 



 

 

  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १८:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया