logo-img

विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैन : झलनाथ खनाल
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगीकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले देश औद्योगीकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको बताए । उनले देशका राष्ट्रिय उद्योग धन्दाहरूलाई विकास गर्न सक्नुपर्ने बताए । उनले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बताए । विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताए ।

उनले भने, ‘देश औद्योगीकरण हुन नसक्नुको कारण के हुन्, आधारभूत कारणहरू हामीले खोज्नुपर्छ । आधारभूत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्योगिक मुलुकमा रूपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योग धन्दाहरूलाई विकास गर्न सक्नुपर्छ । राष्ट्रिय उद्योग धन्दाहरू भनेको के हो ? हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरू बनाउन सकिन्छ । बन्न पनि खोज्दै छन्, बनाउने सम्भावना व्यापक छन् । हामीसँग वनजन्य उद्योगहरू व्यापक रूपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरू पनि सञ्चालन गर्न सक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी खालि विदेशीहरूको अपेक्षा गरेर हिँडिरहेका छौँ ।’

पूर्वप्रधानमन्त्री खनालले  आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल सङ्कटग्रस्त बनेको बताए । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्न सके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिन सक्ने बताए । उनले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरू पनि बन्द हुने बताए । 





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार ११:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया