logo-img

इदले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ : उपराष्ट्रपति यादव
फाइल तस्बिर

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीको पर्व ‘इद–उल–फित्र’ का अवसरमा देशविदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शान्ति एवं समृद्धिको कामना गरेका छन् । 

इदका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा यस्ता पर्वले आपसी एकता एवं सद्भाव बढाउने बताएका छन् ।  

उपराष्ट्रपति यादवले सन्देशमा विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो भन्दै देशमा मनाइने यी र यस्ता पर्वले समुदाय, समाजमा भ्रातृत्व, मेलमिलाप तथा अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

खुसी, भ्रातृत्व, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रूपमा रहेको इद–उल–फित्रले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिएको बताउँदै उनले गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने तथा जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न  सिकाउने सन्देशमा उल्लेख गरेका छन् । 

‘इद–उल–फित्रले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत  समाज निर्माणमा प्रेरणा प्रदान गर्न सकोस् । लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन यो पर्वले प्रेरित गर्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले सन्देशमा उल्लेख गरेका छन् । 

इस्लाम धर्मावलम्बीले सूर्योदयदेखि सूर्य अस्ताएसम्म लगातार एक महिनाका दिनमा निर्जल उपवास पूरा भएको भोलिपल्ट यो पर्व धुमधामका साथ मनाउँछन् । रमजानलाई अल्लाहको रहमत महिनाको रूपमा पनि चिनिन्छ । रमजान पवित्र महिनामा मुस्लिम समुदायले आत्म–संयमको पालना गर्दै रोजा बस्ने र अल्लाहको इबादत गर्ने परम्परा छ । 



रमजानमा मुस्लिम समुदाय मन र शरीरका लागि अशुद्ध मानिएका वस्तुहरूबाट टाढा बस्ने दृढ प्रयास गर्छन् । नयाँ–नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै बधाई, शुभकामना र उपहार साटासाट गरी मनाइने ‘इद–उल–फित्र’ का दिन विशेष परिकार बनाएर खाने र खुवाउने चलन छ । 

इदको चन्द्रमा हेरेर सबैलाई ‘चाँद मुबारक’ वा ‘इद मुबारक’ भन्ने रीति छ । साथै मानिसहरू आफ्नो श्रद्धाअनुसार कमाएको रकममध्ये केही हिस्सा दान दिने चलन पनि छ ।  



  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १०:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया