विश्वप्रकाशको खुलासा : अनौठो नमान्नुहोला, केही समयमै कांग्रेस र एमाले मिलेर सरकार बन्दै छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही समयमै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने दाबी गरेका छन् । बिहीबार झापामा पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले यस्तो खुलासा गरेका हुन् । 

कांग्रेस र एमाले मिलेर सरकार बनाउन सक्ने सम्भावनालाई अनौठो मान्न नहुने दाबी गर्दै उनले यस्तो खबर केही समयमै आउने जिकिर गरेका हुन् । 

को कहिले मिले वा मिलेनन् भन्ने विषय स्थायी नभएको भन्दै उनले भने, ‘यसअघि एमाले र माओवादी केन्द्र मिलेका थिए । त्यसपछि कांग्रेस र माओवादी पनि मिले । यसैले अलि पछि कांग्रेस र एमाले मिलेको खबर पनि आउँछ ।’

आफूूले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सम्मान र श्रद्धा गर्ने उनले बताए । जिल्लावासी नेता भएको हिसाबले उनीहरूप्रति आफ्नो श्रद्धा रहेको उनको भनाइ छ । नेताहरूको गुण र दोषका आधारमा स्वस्थ आलोचना गर्नुपर्ने तर गाली गर्न नहुने उनको भनाइ छ ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेसँग मिलेर सरकार बनाएपछि संसदमा सम्बोधन गर्दै महामन्त्री शर्माले ओली र प्रचण्डप्रति लक्षित गर्दै ‘अब गालीको कुटिर उद्योग बन्द हुने’ भन्दै कटाक्ष गरेका थिए । त्यसको जवाफमा ओलीले भोलिपल्ट एक कार्यक्रमलाई सम्बोधन गर्दै गाली गर्न कांग्रेसलाई कसैले नसक्ने बताएका थिए । 

कांग्रेसकै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि शर्माको सम्बन्ध सुमधुर नरहेको चर्चा हुने गरेको छ । सो विषयलाई इंगित गर्दै शर्माले गुण र दोषका आधारमा नेताहरूको स्वस्थ आलोचना गरे पनि जिल्लावासी नेताहरूको आफूले सम्मान र श्रद्धा गर्ने बताएका हुन् ।  



आज शालिक अनावरण गरिएका पुहाँतु चौधरी झापाबाट पञ्चायतविरोधी उम्मेदवारका रुपमा २०३८ सालमा निर्वाचित सांसद थिए । लोकतन्त्रको विकासमा चौधरीको योगदान महत्वपूर्ण रहेको शर्माको भनाइ थियो । 



  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार २०:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया