logo-img

यी हुन् आज दिनभरका समाचार

सेवाग्रहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब-इन्जिनियरसहित दुई पक्राउ

सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुईजना पोखराबाट पक्राउ परेका छन् । 

पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब-इन्जिनियर उषाकिरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । 

उनीहरुको साथबाट सेवाग्रहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो । 

पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उनले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्शा दिनका लागि आर्थिक लेनदेन भएको बताए । 



त्यस्तै, पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोइरालाले एकजनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताए । पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ । एकजना महानगरपालिकाकै कर्मचारी अर्का एकजना भने बाहिरको व्यक्ति भएको बताइएको छ ।
 
राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयोः अध्यक्ष लिङ्देन



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीति लेखपढले मात्र नहुने बताउँदै उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए ।
 
राजनीति भन्नेबित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताउँदै उनले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको बताए । 

अध्यक्ष लिङदेनले राजनीतिलाई पेसा नभई सेवाको रुपमा अवलम्वन गर्नुपर्ने बताए ।
 
मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी मनाए इदुल फित्र

मुस्लिम समुदायले एकअर्कामा शुभकामना आदानप्रदान गरी आज इदुल फित्र (इद) मनाएका छन् ।

ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरुको भिड रहेको छ । एकअर्कालाई अंकमाल गरेर ‘ईद मुबारक’ भन्दै महिला तथा पुरुषहरुले शुभकामना दिएका छन् ।
 
हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्वी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्दछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । 

ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
 
चलचित्र ‘सारंग’ निर्माण हुने

नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ । 

चलचित्रमा सम्राट श्रेष्ठ, आदित्य कार्की, ऋचा शर्मा, उत्पाल झा, समीरमणि दिक्षित, सुरज तमू, मणिकुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपक थापा र सुमनसागर जंग केसी लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
चलचत्रिको सुटिङ कान्जिर नेशनल स्कुलमा हुनेछ । 

नेपाली अर्थतन्त्र क्रमशः सुधार हुने एडिबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०–०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसियाली विकास बैंक (एडिबी)को प्रकाशन एसियन डेभलपमेण्ट आउटलुक (एसियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०–८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा)ले वृद्धि हुने प्रक्षेपण गरेको हो । 

जुन गत आर्थिक वर्ष २०७९–८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ । 

सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष ०८०–८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ । 

कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९–८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ । 

नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९–८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०–०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०–८१ को पहिलो ६ महिनामा वचतमा रहे पनि चालू खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०–८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालू खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०–८१ मा चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ । 

प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । ऊर्जा क्षेत्रमा सबस्टेसन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको उनले बताए ।
 
कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको उनले बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा ऊर्जा थपिएको उनले बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको उनको भनाइ छ । 

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिबद्ध रहेको बताएको छ । अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिबद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ । 

दक्षिण कोरियाको विपक्षी दल संसदीय चुनावमा विजयी

दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ । बुधबार ३ सय सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ नेतृत्वको डेमोक्रेटिक पार्टी (डिपी)सहितको गठबन्धनले १७५ सिट जितेको छ ।

यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पिपिपी)ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्ष यताको सबैभन्दा धेरै हो । 

विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन । राष्ट्रिय सभाका ३ सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २५९ मतदान केन्द्रमा २५४ निर्वाचन क्षेत्र र ४६ स्लटका लागि मतदान भएको थियो ।

संसदीय चुनावमा पराजयपछि दक्षिण कोरियाली प्रधानमन्त्रीद्वारा राजीनामा


दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले संसदीय चुनावमा सत्तारुढ पिपुल पावर पार्टीको हारपछि राजीनामा दिएका राष्ट्रिय सुरक्षा कार्यालयका सचिवबाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रिय सभाका तीन सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २५९ मतदान केन्द्रमा २५४ निर्वाचन क्षेत्र र ४६ समानुपातिक प्रतिनिधित्वका लागि मतदाताले मतदान गर्नका लागि चौधवार्षिक निर्वाचन सम्पन्न भएको थियो । 

मुख्य विपक्षी डेमोक्रेटिक पार्टी र माइनर रिबिल्डिङ कोरिया पार्टीलगायत देशको फराकिलो उदारवादी गुटले संसदीय चुनावमा तीन–पाँच भागभन्दा बढी सिट जितेको छ । जसलाई राष्ट्रपति यूनको राज्य मामिलाको व्यवस्थापनको मूल्यांकन गर्न मध्यावधि जनमत संग्रहको रूपमा रूपमा हेरिएको छ ।

सफा हिमाल अभियान सुरु

नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत आजदेखि अभियान सुरु गरेको छ । बिहीबार नेपाली सेनाको जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरे । 

आजदेखि सुरु भएको अभियान ०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ । ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे । हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रुपमा लिने गरिएको उनले बताए । 

उनले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्व रहेको बताए । उनले पछिल्ला वर्षमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोर पनि थुप्रिन थालेकाले सरसफाइमा ध्यान पुर्याउनुपरेको बताए । उनले नेपाल सरकारको नीतिअन्तर्गत नेपाली सेनाले यसको जिम्मेवारी लिएको पनि बताए । 

कार्यक्रममा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको जानकारी दिए । 

नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भएबमोजिम हिमालहरुको स्वच्छता कायम गर्ने उद्देश्य अनुरुप सफा हिमाल अभियान २०२४ गरिएको पनि बताए । मानिसका कारण हिमालमा धेरै फोहोर थुप्रिइरहेका कारण सफा गरेर हिमालको स्वच्छता कायम गर्नुपर्ने बताए ।  
 
ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुलाउने व्यवसायीको घोषणा

नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।
 
पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले दरबारमार्ग र ठमेल २४सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए । 

उनले दरबारमार्ग जस्तो ठमेलमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको बताए । अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौती रहेको जानकारी दिए । 

उनले स्वदेशी तथा विदेशी पर्यटकले २४सै घण्टा ठमेलमा घुम्न, बस्न, खान सक्ने अनुभूति गर्ने बताए । परिषद् ठमेललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउन चाहेको दाबी गरे । 

उनले ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने जनाए । उनले ठमेलको भगवान बहालमा स्थानीयको बसोवास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने बताए ।
 
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिब दुई सय व्यवसायी रहेको बताए । करिब सात हजारभन्दा बढी रोजगारी पाएको बताए । उनले दरबारमार्ग विकास बोर्डले विगत लामो समय देखिको प्रयास अहिले सफल हुन थालेको बताए । 

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको सक्रियताले पूर्णता पाउन थालेको बताए । 

  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार २२:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया