सगरमाथाको अंग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अंग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति उनीहरुले असहमति जनाएका हुन् । 

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे । 
 
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए । 
 
प्रा.डा. मानन्धरले भने, ‘सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ, तर मौलिक नाम सगरमाथा भने छुटाउनुहुँदैन ।’ यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए । 
 
कार्यक्रममा प्रा. सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए । साथै उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए । 

यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गर्नुभएको योगदानबारे चर्चा गरे । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार २२:३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया