तालढुङ्गालाई नमूना सहर बनाइँदै, थपिँदै भौतिक संरचना

विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ । पहिलो चरणमा चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ । 

हाल गाउँपालिकाको केन्द्रका रूपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदीयमान सहरका रूपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालू आवमा २ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरूप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्राविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेको बताए । 

अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुङ्गालाई सहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ । उनले तालढुङ्गालाई कुन ‘मोडल’मा सहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको बताए । 

बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रूपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गालाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ ।  

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणको योजना बनेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा सहर जोडिएको छ । रासस 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार ९:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया