कोशीमा विश्वासको संकट, संसदमा सङ्कल्प दर्ता हुँदै

कोशी प्रदेशको मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि राजनीतिक दबाब बढाउँदै लगेका एमाले र माओवादी केन्द्रले आज (बिहीबार) संकल्पप्रस्ताव पेस गर्दै छन् ।

केन्द्र सरकारमा गठबन्धन गरेका एमाले र माओवादीले पुरानो गठबन्धनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि राजीनामा गराउन भनेर दबाब बढाइरहेका छन् ।

आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमा उनीहरूले त्यही उद्देश्यका लागि सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । आज प्रस्तुत हुने प्रस्ताव भोलि शुक्रबार छलफलमा पेस गरिने भएको छ ।

संघको गठबन्धन फेरिएपछि कोशी लगायतका सबैजसो प्रदेशको समीकरणमा हलचल आइरहेको छ । मुख्य दलहरूले संघकै सहमति अनुसार प्रदेशहरूमा पनि सत्तामा भागबण्डा गर्न प्रयास गरिरहेका छन् ।

कोशीमा नेपाली कांग्रेस सरकारमा भए पनि प्राविधिक रूपमा बहुमतमा र राजनीतिक रूपमा अल्पमतमा देखिन्छ । सङ्कल्प प्रस्ताव दर्ता भएर छलफल सुरु भएपछि कांग्रेसले आफ्नो रणनीतिक चाल चल्न थाल्ने बुझिएको छ ।

प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्रालयको नेतृत्व गरिरहेका प्रवक्ता शमशेर राईले संसद्को प्रक्रिया अगाडि बढेपछिको अवस्थालाई समीक्षा गरेर आवश्यक कदम चालिने बताए ।



एमालेले भने कोशीको राजनीतिलाई प्रतिष्ठाको प्रश्न बनाएको देखिन्छ । यसअघि एमालेकै नेताहरूले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कांग्रेस र माओवादीको गठबन्धन बनेपछि एमाले सत्ताबाट हात धुन बाध्य भएको थियो ।

अहिले माओवादीसँग सरकारमा सहकार्य सुरु भएपछिको अवसर उपयोग गर्दै कोशीको सत्ता फेरि आफ्नै हातमा फर्काउन एमाले सक्रिय देखिएको छ । माओवादी भने विगतमा कांग्रेसले धोका दिँदा आफ्नो अवस्था खस्किएको ठान्दै यसपटका मुख्यमन्त्रीलाई सत्ताच्युत गराएर त्यसको बदला लिन एमालेसँग सहकार्य गरिरहेको देखिन्छ ।



यसपटक मुख्यमन्त्री कार्कीले आफूहरूलाई चुनौती दिँदै राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान लिएको निष्कर्षमा पुगेका एमाले र माओवादीले संसदमा सङ्कल्प प्रस्ताव पेस गर्न लागेका हुन् ।

सङ्कल्प प्रस्तावमा मुख्यमन्त्रीले यही वैशाख २५ भित्र राजीनामा दिएर विश्वासको मत लिनुपर्ने सर्त राख्दै अन्यथा मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने प्रस्ताव गरिएको छ ।

  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १३:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया