logo-img

भारतको सामुदायिक विकास परियोजना : दार्चुलामा बन्ने भयो सुविधा सम्पन्न विद्यालय

भारतले नेपालमा विभिन्न जिल्लामा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । जसमध्ये ४ सय ८९ वटा परियोजना सम्पन्न भइसकेको जानकारी दिएको छ । 

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा उक्त परियोजना सञ्चालन गरेको हो । ती परियोजनामध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा मात्र छन् । दार्चुलामा बिहीबार मात्र शैल्यशिखर नगरपालिकामा भारतको सहयोगमा गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । भवनका लागि भारत सरकारको २.७३ करोड आर्थिक सहयोग रहेको छ । 

मेयर विजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले उक्त भवनको शिलान्यास गरेका हुन् ।  कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो । सो अवसरमा मेयर धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारतको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचर निर्माण गरिने दूतावासले जनाएको छ ।

भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौं वटा एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा आठ वटा एम्बुलेन्स र दुईवटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार ११:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया