logo-img

यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कपको यात्रा समाप्त

एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग छ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान र हङकङबीचको सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य यूएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।
    
साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो । 

पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रूपमा ओपनर आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो । त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई/दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक/एक विकेट लिए ।



नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने यूएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी यूएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदै छ । 



  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १५:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया