logo-img

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो : ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
फाइल तस्बिर

चितवनको माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । 

सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नु परेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । सोक्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराइन् । ‘चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ,’ उनले भनिन् । 

लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले भनिन्, ‘तपाईं चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो । विकासका काम सुरु भएका थिए । अहिले लथालिङ्ग छ । तपाईंले चितवन छाडेपछि माडीको बिचल्ली भयो ।’

उनका अनुसार विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन् । ‘जसका कारण सडक धुलाम्मे छ’, नगरप्रमुख महतोले भनिन्, ‘यसलाई तत्काल समाधान गरौँ ।’

माडीवासीका गुनासा सुनेपछि प्रधानमन्त्री दाहालले सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधानमा गम्भीर भएर लाग्न निर्देशन दिए । ‘माडीको समस्या समाधानमा वन मन्त्रालय र विद्युत् प्राधिकरण गम्भीर हुनुपर्‍यो । मुख्य कुरा जनताको हित हो । जनतालाई सास्ती दिएर निकुञ्ज संरक्षण हुँदैन । जनताको भावना सम्बोधन गरेर मात्र पर्यावरण संरक्षण सम्भव हुन्छ ।’  

प्रधानमन्त्री दाहालले यस विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) सँग पनि परामर्श गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिए । ‘विकासका काममा सबैले आ–आफ्ना स्थानबाट सहजीकरण गरौँ,’ उनले भने ।



छलफलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, सांसद गङ्गा बेल्वासे, पूर्वसांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख महतो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए । रासस 



  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १९:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया