logo-img

महिन्द्र रायको आरोप : बाबुराम भट्टराईले जनतालाई धोका दिए

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकतामा भाँजो हालेर नेपाली जनतालाई धोका दिने काम गरेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । यादवसहितको समूह माओवादी केन्द्रसँग पार्टी एकताका लागि तयार भइसकेको बेला भट्टराईले एकीकरणको विपक्षमा अभिव्यक्ति दिएका थिए । 

भट्टराईको नजिकका तीनजनाले उनको साथ छोड्नु नै नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको दाबी यादवले गरे । 

‘मैले डा. साहेबलाई भनेको थिएँ, डा. साहेब तपाईं चुनाव लड्नुहोस् । म चुनाव लड्छु, दुईवटा सिट हुन्छ । जितिन्छ र पार्टीलाई बनाउन सकिन्छ । उहाँले मान्नुभएन । उहाँको भनाइ थियो– अब हामीले पार्टी चलाउन सक्दैनौँ । पार्टी चल्नै सक्दैन,’ यादवले भने,‘हामीले विभिन्न अवरोध पार गर्दै यहाँसम्म आयौँ, अब यो देशको राष्ट्रवादी शक्तिहरुलाई जोड्नुपर्छ । देशभक्त पार्टीसँग एकता गर्ने आधारमा जाऔँ । उहाँले जे–जे भने पनि मलाई आलोचना गर्नु छैन ।’

उनले हालैको संसदीय निर्वाचनमा पनि भट्टराईले सल्लाह नमानेको दुखेसो गरे । ‘एउट कुरा भन्छु, गंगाजीले ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो? दुर्गा भट्टराई, विश्वदीप पाण्डे उहाँको परिवारिक सदस्य तीनजनाले उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको छ,’ उनले भने,‘बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेका छन् ।’

संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति माओवादी केन्द्र नै रहेको यादवले बताए । १० प्रदेशमा सहमतिको अधुरो काम पूरा गर्न माओवादीसँग एकता आवश्यक रहेको उनको भनाइ थियो । 



‘नेपाल समाजवादी पार्टीको सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा माओवादी नै छ,’ उनले भने । माओवादी आन्दोलनको बलमा नै मुलुकमा गणतन्त्र सम्भव भएको उनले बताए । मुलुकलाई १० प्रदेश आवश्यक रहेको जिकिर गर्दै उनले त्यो पूरा गराउन अघि बढ्नका लागि पनि पार्टी एकता आवश्यक रहेको उनको जोड थियो । 



  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार २०:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया