logo-img

एसिसी प्रिमियर कप : बेन्चमा सीमित भएर घर फर्किरहेका अनिल साह
फाइल तस्बिर

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालको लक्ष्य थियो– उपाधि रक्षा गर्नु । तर, नेपाल यसपटक चौथो स्थानमा खुम्चियो ।

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएसँगै नेपाल चौथो स्थानमा खुम्चिएको हो । योसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन असफल भयो ।

शुक्रबार नेपाल यूएईसँगको सेमिफाइनलमा ६ विकेटले पराजित भएको थियो । उक्त हारले नेपालको फाइनल यात्रामा धक्का लाग्यो । डिफेन्डिङ च्याम्पियन भएपनि नेपालले प्रतियोगिता अवधिभर अपेक्षाकृत प्रदर्शन गर्न सकेन । समूह चरणको चारवटै खेलमा जित निकालेको नेपालले आफ्नो प्रदर्शनबाट समर्थकलाई भने पूर्णरूपमा सन्तुष्ट बनाउन सकेन ।  

नेपालले योजनाअनुरूप नतिजा निकाल्न नसक्नुमा ओपनिङ ब्याटर फ्लप हुनु पनि प्रमुख कारण रह्यो । यसपटकको एसिसी प्रिमियर कपमा ओपनर कुशल भुर्तेलको प्रदर्शन निकै निराशाजनक रह्यो । 



विश्व क्रिकेटमा आक्रामक ब्याटरको छवि बनाएका र ठूला टिमविरुद्ध राम्रो प्रभाव छाडेका उनले प्रिमियर कप २०२४ मा भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । कुशलले यस प्रतियोगितामा ६ खेलमा ११५.२५ को कमजोर स्ट्राइक रेटमा ६८ रन मात्र जोडे । त्यसक्रममा उनी तीन खेलमा त लगातार शून्यमै आउट भए । 

कुशल नेपालका लागि टी–२० आईमा सर्वाधिक रनकर्ताको सूचीको तेस्रो नम्बरमा छन् । तर, यसपटक भने उनले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेनन् । कुशलको ब्याट चल्न नसक्दा नै नेपालले ६ मध्ये पाँच खेलमा निकै खराब सुरुवात गर्‍यो ।



उनका ओपनिङ पार्टनर आसिफ शेखले पनि एसिसी प्रिमियर कपमा सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । उनले ६ खेलमा ११६.८० को स्ट्राइक रेटमा १ सय ३९ रन बनाए । 

जारी प्रतियोगितामा नेपालका लागि सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा रहे पनि आसिफ प्रभाव पार्ने खालको पारी खेल्न भने खेल्न चुके । आसिफले मलेसियाविरुद्ध ३५ बलमा ३२, कतारविरुद्ध ४१ बलमा ५२, हङकङविरुद्ध १८ बलमा ४०, साउदी अरेबियाविरुद्ध ३ बलमा २ तथा यूएईविरुद्ध ११ बलमा ८ रन जोडे । 

यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा हङकङविरुद्ध उनले ११ बलमा ५ रन बनाए । समग्रमा हेर्दा एसिसी प्रिमियर कप २०२४ मा आसिफको प्रदर्शन गर्व गर्नलायक रहन सकेन । 

फाइल तस्बिर

अनिल उपेक्षामा ? 

पछिल्लो समय महत्वपूर्ण प्रतियोगितामा ओपनिङ ब्याटरद्वय आसिफ र कुशलको जोडी जम्न नसके पनि प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहितकुमार पौडेलले उनीहरूलाई निरन्तरता मौका दिइरहेका छन् । प्रशिक्षक र कप्तान भन्छन्, ‘आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप आसिफ र कुशललाई ओपनिङमा निरन्तर प्रयोग गरिएको हो ।’

एसिसी प्रिमियर कप पनि कम महत्वपूर्ण प्रतियोगिता थिएन । उपाधि जितेमा फेरि विश्व क्रिकेटका हस्ती भारत र पाकिस्तानसँग खेल्ने मौका थियो । तर, खराब लयका बाबजुद प्रशिक्षक र कप्तानले ओपनिङमा कुशल र आसिफलाई निरन्तर प्रयोग गरिराखे । प्रशिक्षक देसाईले टिममा रहेका ओपनरका अर्का विकल्प अनिल साहलाई मौका दिन नै आवश्यकता ठानेनन् । 

टिमले ८ दिनको अवधिमा ६ म्याच खेल्दा उनी बेन्चमै सीमित रहे । टोलीमा समावेश अन्य १३ खेलाडीले कुनै न कुनै खेलमा प्लेइङ–११ मा मौका पाउँदा अनिल भने सबै खेलमा बेन्चमा सीमित भए ।

टी–२० आई क्रिकेटको राम्रो अनुभव नभएकाले पनि उनी प्रशिक्षक र कप्तानको पहिलो रोजाइमा नपरेका हुन सक्छन् । हालसम्म अनिलले २ टी–२० आईमा १३५.२९ को स्ट्राइक रेटमा २३ रन बनाएका छन् । 

उनले गत मार्चमा नामिबियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । सो खेलमा उनले १७ बलमा तीन छक्कासहित २३ रन बनाए । त्यसपछि भने अनिलले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएका छैनन् ।

उनले यसबीचमा आयरल्याण्ड ‘ए’ सँग र भारतमा सम्पन्न एसएमएस फ्रेण्डसिप कप भने खेल्न पाए, जहाँ अनिल ठूलो पारी खेल्न चुके । सोही कारण पनि उनलाई प्रशिक्षक मोन्टीले पहिलो रोजाइमा नराखेका हुन सक्छन् । 

फाइल तस्बिर

नेपालले आउँदो जुनमा आइसिसी टी–२० विश्वकप खेल्दै छ । त्यतिबेलासम्म पनि नेपालको यही लय कायम रहने हो भने विश्वकपमा नेपालको प्रदर्शन सम्झनलायकसम्म नहुन सक्छ ।

विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । त्यसअघि नेपालले विश्वकपको तयारीस्वरूप वेस्ट इण्डिज ‘ए’ सँग घरेलु मैदानमा पाँच खेलको टी–२० सिरिज खेल्दैछ । सिरिज आउँदो शनिबारदेखि सुरु हुनेछ । 

  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार ७:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया