logo-img

एसिसी प्रिमियर कपमा किन बिग्रियो नेपालको प्रदर्शन ? [भिडियोसहित]

एसिसी प्रिमियर कपमा भाग लिन ओमान जानुअघि नेपाली टिमले राम्रै तयारी गरेको थियो । यही प्रतियोगिताको उपाधि रक्षा गर्न नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ सँग र भारतमा रणजी ट्रफी टिम गुजरात र बरोडासँग खेल्यो ।

यी दुवै प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो रह्यो । तर, नेपाली टिमलाई यी दुई सिरिजको अभ्यासले प्रिमियर कपमा उद्देश्य हासिल गर्न पर्याप्त देखिएन । बरु नेपालले यसपटक झन् खराब प्रदर्शन गर्‍यो ।

गत संस्करणको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै एसिया कपको यात्रा गरेको नेपाल यसपालि चौथो भयो । सेमिफाइनलमा यूएईसँग ६ विकेटले स्तब्ध भएको नेपाल तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भयो ।

उता यूएईले लगातार फाइनलको यात्रा गर्दा ओमान र हङकङले प्रदर्शनमा सुधार गरे । गत संस्करणको प्रिमियर कपमा हङकङ समूह चरणबाटै बाहिरिएको थियो । तर, ऊ यसपटक तेस्रो स्थान हासिल गरेर एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भयो । 



गत वर्ष सेमिफाइनलमा पराजित ओमान अपराजित रहँदै फाइनलमा पुग्न सफल भयो । यी तीन टिमलाई महत्वपूर्ण उपलब्धि दिलाउन ब्याटिङ र बलिङमा खेलाडीले राम्रो प्रदर्शन गरे । फाइनल समीकरण पूरा हुँदासम्म जारी एसिसी प्रिमियर कपमा सर्वाधिक रनकर्ताको सूचीको शीर्ष आठमा यूएई, ओमान र हङकङका खेलाडीको दबदबा छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी यो सूचीको नवौँ स्थानमा छन् । उनले ६ खेलमा एक अर्धशतकको मद्दतमा १ सय ५० रन बनाए । बाँकी नेपाली ब्याटर भने टप टुवेलभित्र पनि छैनन् । यसपटक प्रतियोगिता अवधिभर नेपालको तर्फबाट दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र सन्दीप जोराले मात्र अर्धशतक बनाउन सके । 



टिमका प्रमुख सदस्य मानिएका कप्तान रोहितकुमार पौडेल, ओपनर कुशल भुर्तेल र अलराउन्डर कुशल मल्लको ब्याटबाट ठूलो पारी निस्कन सकिएन । यसपालि रोहितले ११३, कुशलले ६८ तथा कुशल मल्लले ६० रन मात्र बनाउन सके । उनीहरू सबैले प्रतियोगिताको ६/६ म्याच खेलेका थिए । यी तीन खेलाडीको ब्याट शान्त रहँदा पनि नेपाल सेमिफाइनलमै रोकिन पुग्यो ।      

नेपालले बलिङमार्फत पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेन । प्रिमियर कप २०२४ मा सर्वाधिक विकेट लिने सूचीको टप फाइभभित्र नेपालबाट दीपेन्द्र सिंह ऐरी मात्र छन् । उनले ६ खेलमा ८ विकेट लिए । अन्य नेपाली बलर भने टप टेनभित्र पनि अटाएनन् ।

टिमका अनुभवी बलर सोमपाल कामी र करण केसीले सन्तोषजनक बलिङ गर्न नसक्दा पनि नेपालले आफूअनुकूल नतिजा निकाल्न सकेन । यसपटक प्रतियोगितामा सोमपालले ५ खेलमा ४ तथा करणले ३ विकेट मात्र लिन सके ।

गत वर्ष नेपालले बलिङको बलमा उपाधि जितेको थियो । उक्त संस्करणमा नेपालको जितमा स्पिनर सन्दीप लामिछानेको प्रदर्शन सानदार रह्यो । उनले प्रतियोगिता अवधिभर ५ खेलमा ३.७९ को इकोनमीमा १३ विकेट लिए । 

सन्दीप प्रिमियर कप २०२३ मा नेपालका लागि सर्वाधिक विकेट लिने मामलाको नम्बर वान तथा समग्रमा दोस्रो स्थानमा थिए । नेपाललाई एसिया कपमा पुर्याउन अहम् भूमिका खेलेकोमा उनी सो प्रतियोगितामा ‘प्लेयर अफ दि सिरिज’ चुनिए ।

यसपटक नेपाली टिममा सन्दीपको अभाव खड्किएको प्रष्टै देखियो । नेपालले एक महिनापछि आइसिसी टी–२० विश्वकप खेल्दैछ । यदि विश्वकपमा पनि नेपालले प्रदर्शनमा सुधार गर्न नसकेमा टेस्ट टिमलाई हराउने सपना फेरि साकार नहुन सक्छ । आसन्न विश्वकपमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।  

  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १४:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया