logo-img

पहिले राप्ती नदीको बगर, अहिले मनग्य कमाइको भर

राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् । 

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ । यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन् । यसरी आम्दानी गर्नेमध्ये एक हुन् लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी ।

चौधरीले करिब दुई विघा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, वोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेका छन् । बीस वर्षअघि राप्ती नदीको बाढीले उठीबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउँछिन् । त्यस समय यही बगरले उठीबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी छन् ।  

‘बीस वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो । अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ । त्यहीको आम्दानीले छ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भए पनि बचत गर्न सफल भएका छौँ’, चौधरीले भनिन् । विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला छ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउँछिन् । उनकाअनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । 

‘बाढी पसेको दश वर्षसम्म त यहाँ बालुवा मात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू गर्यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन’, चौधरीको भनाई छ, ‘बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाई भएको छ ।’

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ । उनले पनि एक विघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौषममा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म बचत गर्ने गरेको बताइन् । 



उनले भनिन्, ‘खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो । अरुकहाँ ज्याला मजदू्री गरेर जीविको चलाउने दिन पनि आए । तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ । अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ ।’ 

लमही नगरपालिका–४ की ३७ वर्षीया माया चौधरीले एक विघा जमिनमा खरवुजा र एक विघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताउँछिन् । सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ । 



लमही नगरपालिका –४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका उनीहरू नै बताउँछन् । राप्ती नदी आसपासका यि तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिकरूपमा गरी दुई हजारभन्दा बढी किसानले एक सय दुई समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुद्देश्य सहकारी संस्थाको तथ्याङ्क छ । यही संस्थाले सुरूमा किसानलाई  निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा विना धितो ऋण पनि उलब्ध गराउँदै आएको थियो ।

लमही नगरपालिकाको कृषि शाखाकी गङगा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिए । गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पुयाउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । 

तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकारले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझबढी लाभ लिन सकिने यहाँका किसानको बुझाई छ । 

  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १७:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया