logo-img

प्रस्तावित विश्वविद्यालय बन्नेमा सुदूरपश्चिमवासी विश्वस्त

कहिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, कहिले प्रतिष्ठान त कहिले गेटा मेडिकल कलेज बनाउने भन्ने लामो बहस र खिचातानीबीच अन्ततः गेटा मेडिकल कलेज विश्वविद्यालयका रूपमा अगाडि बढ्ने पक्कापक्कीजस्तै देखिएको छ । 

सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित गरेसँगै यसको आगामी गन्तव्य स्पष्ट भएको हो । गेटा मेडिकल कलेज सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । यससँगै सो स्थान विभिन्न नेताहरूको अवलोकनको केन्द्रविन्दु पनि बनिरहेको छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आइतबार (आज)मात्रै कैलालीको गेटामा विश्वविद्यालय बनाउन निर्माण गरिएको भौतिक संरचनाहरूको स्थलगत अवलोकन गरेकी छिन् । मन्त्री श्रेष्ठले आज बिहान निर्माण गर्ने भनिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको पछिल्लो अवस्थाबारे बुझेकी हुन् ।

यसबीचमा वर्तमान प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूले पटक–पटक अवलोकन गर्ने क्रम भने जारी रहेको छ । गेटामा पुगेकी मन्त्री श्रेष्ठले गेटामा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना बनाएर अगाडि बढ्ने जनाएकी छिन् ।

अवलोकनमा आएकी मन्त्री श्रेष्ठलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले तत्काल विश्वविद्यालय सञ्चालनको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको थियो । 



संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो)द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संघीय संसद्को आगामी अधिवेशनमा स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पास गरी यथाशीघ्र छ सय शय्याको अस्पताल सञ्चालन गर्न माग गरिएको छ । गोदावरी–५ स्थित गेटामा छ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक संरचना निर्माण भएका छन् । 



करिब सात अर्बको लगानीमा २६ वटा विभिन्न आधुनिक भवन छन् । गत कात्तिक १ गतेबाट ओपिडी सेवा विस्तार भएर अस्पताल पनि सञ्चालनमा आइसकेको छ ।

समितिका संयोजक पाण्डे (आगो)ले प्रस्तावित मेडिकल विश्वविद्यालयमा भेटेर शिक्षामन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले भने, ‘शिक्षामन्त्री श्रेष्ठले विधेयक हामीले संसद्मा लगिरहेका छौँ । चाँडै ऐन बनेर आउँछ भन्ने आश्वासन दिनुभएको छ ।’ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन आउनेबित्तिकै लागू भएर सञ्चालनमा आउनेमा उनी विश्वस्त सुनिन्छन् । 

यसका साथै पाण्डेले ७७ बिघा जमिनमा ४५ वटा ठूला भवनहरू सात अर्बको लगानीमा बन्दै गर्दा सरकारले पनि स्थानीय जनताको मागअनुसार काम गरेको छ । चाँडै अगाडि बढाउनेमा आफूहरु ढुक्क रहेको उनले बताएका छन् । यसका लागि सरकारप्रति पनि आभारी रहेको उनको भनाइ छ । 

विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनका लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । 

गत २९ माघको राष्ट्रिय सभाले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ । सभाको सोमबार बसेको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना तथा सञ्चालन गर्न कानुनी आधार दिने विधेयक सर्वसम्मत पारित गरेको हो ।

यसअघि सरकारले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै १९ असोजमा राष्ट्रिय सभामा विधेयक पेस गरेको थियो । सभाले दफावार छलफलका लागि पठाएको विधेयकलाई विधायन समितिले प्रतिवेदनसहित २४ माघमा सभामा पेस गरेको थियो । 

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएसँगै सरोकारवालाले स्वागत गरेका छन् । अब राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा आउने विधेयक अझै समृद्ध बनाएर ऐन बनाउन सुझाव पनि दिएका छन् ।

यसका साथै आजै समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेर धन्यवादसहित ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री दाहालले पनि प्रस्तावित विश्वविद्यालयलाई अगाडि बढाउन लागिपरेको जनाएको संयोजक पाण्डेले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले पनि अब आउने संसद्मा विधेयक पेस गरेर बजेटसहित ल्याउने प्रतिबद्धता जनाउनुभएको छ,’ संयोजक पाण्डेले भने ।


 
उनका अनुसार विधेयक राष्ट्रिय सभाबाट पास भइसकेको अवस्था छ । यसका साथै प्रतिनिधिसभाबाट पारित भएर कानुन बनाउने अवस्थामा रहेकाले प्रस्तावित विश्वविद्यालय अगाडि नबढाउने कुनै विकल्प नै छैन । यसलाई अगाडि बढाउन बजेटको आवश्यकता छ । सरकारले प्रस्तावित विश्वविद्यालयलाई अगाडि बढाउन पछि नहट्ने उनले विश्वाससमेत व्यक्त गरेका छन् । 

लामो संघर्ष र प्रयासपछि गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा अगाडि बढाउँदा यहाँका जनताले राहतको सास फेर्ने सरोकारवालाले जनाइरहेका छन् । साथै, गेटामाथि विभिन्न समयमा गरिएका चलखेलले आफ्नै भूमिमा बनेको अस्पतालमा सेवा गर्न इच्छुक डाक्टरहरूलाई पनि निराश बनाइदिएको थियो । जुन अहिले आएर खुसीमा परिणत भएको छ ।

कानुन बनेर कार्यान्वयनमा आएपछि यो नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनेछ । र, यसले नेपालको चिकित्सा विज्ञान क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।

  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १९:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया