logo-img

मर्मतपछि सोमबार काठमाडौं आइपुग्दै निगमको न्यारोबडी जहाज, इयूको उडान प्रतिबन्ध हटाउन पहल

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौं आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारोबडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिए । 

मन्त्रालयमा  आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौं आउन लागेको बताए । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको उनले बताए । 

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौं फर्किन लागेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारोबडी जहाज भोलि राति काठमाडौं आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे । 

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

इयूको उडान प्रतिबन्ध हटाउन पहल



पर्यटनमन्त्री तामाङले युरोपेली संघ (इयू)ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिए । उनले भने, ‘नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिएँ । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।’

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताए । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका  सचिव डा. काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताए । उनले सिइओ छनोट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढंगले हुने दाबी गरे । 



  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार २०:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया