logo-img

एमाले प्रतिनिधि परिषद् बैठक सम्पन्न, १५ बुँदे प्रस्ताव पारित

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा आइतबार एमालेका उपमहासचिव विष्णु रिमालले पेस गरेको १५ बुँदे समसामयिक प्रस्ताव बैठक हलबाट पारित भएको हो । उनले अगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न पार्टीका सबै सदस्यलाई आग्रह गरे । 

उनले भने, ‘नेकपा एमालेलाई एउटा जटिल अवस्था र चुनौतीका बाबजुद यो अवस्थासम्म ल्याइपुर​याउने अध्यक्ष केपी शर्मा ओली लगायत  सिंगो नेतृत्व पंक्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ । अगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न सबै कमरेडहरुलाई आह्वान गर्दछु ।’

गत फागुनदेखि बनेको रास्वपासहितको सत्ता सहकार्यको गठबन्धनलाई स्वागत गर्दै वर्तमान सरकारलाई सफल बनाउने घोषणा समेत बैठकले गरेको छ ।  
पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । 

उनले भने, ‘बैठकले गत फागुन २१ गते निर्माण भएको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसबीच भएको सत्ता सहकार्यप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दछ ।’ 

बैठकले सत्ता सहकार्यलाई कमजोर पार्ने, मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन आग्रह गर्दै राष्ट्रियता, लोकतन्त्र र जनहितलाई थप जोखिममा पार्ने काम हुन नदिन सत्ता समीकरणका सबै दलहरुलाई आग्रह गरेको बताए । 



बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढंगले प्रस्तुत हुन, यसका विरुद्ध अभियान चलाउन र कानुनका नजरमा सबै बराबर भन्ने व्यवहारबाट देखाउन सरकारसँग माग गरिएको उपमहासचिव रिमालले बताए । 



बैठकको पहिलो दिन शनिबार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत भएका थिए । 

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आयोगको तर्फबाट आ–आफ्ना प्रतिवेदन पेस गरेका थिए । ६ वटै प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको हो ।

स्वास्थ्यमा समस्या भएका कारण अध्यक्ष ओली भने आइतबारको बैठकमा सहभागी भएनन् । 

  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार २०:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया