logo-img

आफ्नै पदको ठेगान छैन, १५ वर्षको योजना अघि सार्दै श्रममन्त्री
डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिने

वर्षैपिच्छे सरकार परिवर्तन र सरकारपिच्छे नयाँ योजना अघि सार्ने नेपालको परम्पराजस्तै भएको छ । गठबन्धनमा रहेका दलहरू सरकार छाड्ने कि निरन्तर रहिरहने अन्योलमा रहे पनि मन्त्रीले योजना सुनाउन भने छाडेका छैनन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । एक वर्षअघि श्रममन्त्रीमा नियुक्त भएको डेढ महिनामा नै सरकारबाट बाहिरिएका अर्याल पछिल्लोपटक मन्त्री बनेको दुई महिना भएको छ ।

त्यसमा पनि श्रममन्त्री अर्याल सहकारी प्रकरणमा मुछिएका छन् । उनी मात्र होइन, रास्वपाका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र सो पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी प्रकरणमा मुछिएका छन् । अहिले गठबन्धन जोगाउनकै लागि उनीहरूमाथि अनुसन्धान नभए पनि कुनै दिन उनीहरु पनि अनुसन्धानको दायरामा पक्कै आउनेछन् ।

आइतबार मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’सम्बन्धी छलफलमा उनले भने, ‘हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।’

श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो ।

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । उनले भने, ‘मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।’ 



उनका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उनको भनाइ छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवर्द्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए । छलफलमा नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना, होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाब दिएका थिए । 



  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार २१:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया