logo-img

सात महिनाअघि श्रीमतीको हत्या गरी फरार ठाकुर पक्राउ
फाइल तस्बिर

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवै जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । 

पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । 

गत वर्ष १० कात्तिकमा रेखा देवीको श्रीमान् सुदीपसँग विवाद भएको थियो । विवाद बढेपछि सुदीपले बन्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताए । 

‘घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ’, उनले भने । दुवैजना गत वर्ष ३० कात्तिकमा घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।   



हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए ।

प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ ।  



  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १०:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया