logo-img

जोखिमकै बीचबाट वामपन्थी एकताका लागि सहकार्य गरौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । 

‘जोखिमहरू छन । जहिले पनि रहन्छन् । तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो । हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ । जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्री दाहालले भने । उनले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए । 

‘अघिल्लो एकता बचाउन सकिएन । तर, एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन । समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ । स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ,’ दाहालले भने । 

उनले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको पनि बताए । ‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो । हामी सबै समाजवादमा सहमत छौँ । विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरुरी छ । यी विषयसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ । जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने । 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ११:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया