logo-img

आरसिबीको प्लेअफ सम्भावना लगभग समाप्त, के छ अन्य टिमको अवस्था ?

रोयल च्यालेन्जर्स बेंगलुरु अर्थात् आरसिबीको आइपिएल उपाधि सपना यसपटक पनि अधुरै रहने भएको छ । आइतबार कोलकाता नाइट राइडर्स (केकेआर) सँग पराजित भएपछि आइपिएल २०२४ मा पनि उपाधि जित्ने आरसिबीको सपना अधुरै रहने पक्का भएको हो ।  

प्लेअफ सम्भावना जीवित राख्न कोलकाताविरुद्ध आरसिबी जित्नैपर्ने दबाबमा थियो । तर, दुर्भाग्य ऊ यस खेलमा एक रनले पराजित हुन पुग्यो । जारी सिजनमा आरसिबीको यो लगातार छैटौँ तथा समग्रमा सातौं हार हो । आठ म्याच खेल्दा उसले एउटा खेल मात्र जित्न सकेको छ । 

अहिले आरसिबी २ अंकका साथ तालिकाको पुछारमा छ । अब ऊ प्लेअफमा पुग्न निकै कठिन छ । बाँकी सबै खेलमा जित निकालेमा आरसिबीको कुल १४ अंक मात्र हुनेछ । तर, उसलाई यो उपलब्धि हासिल गर्न असम्भवजस्तै छ ।

आरसिबीको हालत खराब हुनु पछाडिको कारण स्टार खेलाडी फ्लप हुनु हो । आइपिएल २०२४ मा आरसिबीमा आबद्ध ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, अल्जारी जोसेफ, मोहम्मद सिराज र रीस टोप्लीको प्रदर्शन निकै कमजोर छ । यी स्टार लयमा नदेखिँदा आरसिबीको हारको सिलसिला तोड्न सकेको छैन ।  

जारी संस्करणमा आरसिबीका लागि विराट कोहली, दिनेश कार्तिक, कप्तान फाफ डुप्लेसिस र रजित पाटिदार मात्र केही लयमा देखिएका छन् । उनीहरूमध्ये कोहली र कार्तिक उत्कृष्ट लयमा छन् ।



जारी सिजनमा कोहलीले ८ खेलमा दुई अर्धशतक र एक शतकको सहयोगमा सर्वाधिक ३ सय ७९ रन तथा कार्तिकले ७ इनिङ्समा दुई अर्धशतकसहित २ सय ५१ रन बनाएका छन् । 



बलिङतर्फ आरसिबीका कुनै पनि बलरले प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्, जसकारण उसले बलियो लक्ष्य दिँदा पनि रोक्न सकिरहेको छैन । साथै, डेथ ओभरमा आरसिबीका बलर महँगा साबित भइरहेको छन् ।

कोलकाताविरुद्ध पनि बलरको यस्तै प्रदर्शन दोहोरियो । १८ ओभरको खेल सकिँदा कोलकाताले ६ विकेट गुमाएर १ सय ८६ रन जोडेको थियो । तर, अन्तिम २ ओभरमा आरसिबीका बलरले ३६ रन खर्चिए । सोही कारण उसले २ सय २३ रनको बलियो लक्ष्य पायो । 

अघिल्लो खेलहरूमा पनि आरसिबीका बलरको प्रदर्शन निकै कमजोर रह्यो । सातौं हारपछि आरसिबी अब पुछारबाट माथि उठेर सिजनको अन्त्य गर्ने लक्ष्यमा छ । उसले आफ्नो नवौँ खेलमा बिहीबार सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

त्यसपछि आरसिबीले २८ अप्रिल र ४ मेमा गुजरात तथा ९ मेमा पञ्जाब, १२ मेमा दिल्ली र १८ मेमा चेन्नईसँग खेल्ने तालिका छ । 

कुन–कुन टिम पुग्लान् प्लेअफमा ? 

लिगको आधा सिजन सकिँदा अंक तालिकाको शीर्ष स्थानमा राजस्थान रोयल्स छ । उसले ७ खेलबाट १२ अंक जोडेको छ । सानदार लयमा रहेको राजस्थानलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । अझै सात खेल खेल्न बाँकी रहेकाले राजस्थानको प्लेअफमा सम्भावना बलियो छ ।  

यस्तै, अहिले दोस्रो र तेस्रो स्थानमा रहेका कोलकाता र हैदराबादको समान ७ खेलबाट १०/१० अंक छ । यी दुई टिम पनि जारी सिजनमा उत्कृष्ट लयमा छन् । कोलकाताले सात खेल खेल्दा पाँचमा जित र दुई खेलमा पराजय बेहोरेको छ ।

यस्तै, उच्च लयमा रहेको हैदराबादको प्लेअफ सम्भावना पनि बलियो छ । उसले हरेक खेलमा कीर्तिमानी प्रदर्शन गरिरहेको छ । यसपालि हैदराबादलाई उपाधि दाबेदारको रूपमा पनि हेरिएको छ । 

यस्तै, अहिले तालिकाको चौथो स्थानमा पाँच पटकको आइपिएल विजेता चेन्नई सुपर किंग्स रहेको छ । उसले ७ खेल खेल्दा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ । चेन्नईले अब सातमध्ये चार खेल घरेलु मैदानमा खेल्ने तालिका छ । गत संस्करण विजेतासमेत रहेको चेन्नईको प्लेअफ सम्भावना पनि बलियो देखिन्छ ।

यस्तै, तालिकाको पाँचौं र छैटौँ स्थानमा लखनउ र गुजरातको प्लेअफ सम्भावना कायमै छ । यद्यपि यी दुई टिमले जारी सिजनमा सोचेअनुरूप प्रदर्शन गर्न सकिरहेका छैनन् । बाँकी खेल राम्रो लयमा रहेका टिमसँग खेल्ने तालिका भएकाले उनीहरूलाई प्लेअफमा पुग्न त्यति सहज छैन ।

गुजरातले आठ खेल खेल्दा चारमा जित र चार खेलमा हारको सामना गरेको छ । गुजरातभन्दा एक खेल कम खेलेको लखनउले चारमा जित र तीन खेलमा पराजय बेहोरेको छ । 

तालिकाको सातौं र आठौँ स्थानमा रहेका मुम्बई र दिल्लीको प्लेअफ यात्रा थप कठिन देखिन्छ । मुम्बईभन्दा दिल्लीलाई प्लेअफमा पुग्न गाह्रो छ । यी दुई टिमसँग अहिले ६/६ अंक छ ।

मुम्बईले सात खेल्दा तीनमा जित र चार खेलमा हारको सामना गरेको छ । दिल्लीले आठ खेल खेलिसकेको छ, जसमा उसले पाँचमा हार तथा तीन खेलमा मात्र जित निकालेको छ ।  

तालिकाको नवौँ स्थानमा रहेको पञ्जाबको प्लेअफ यात्रा पनि निकै कठिन छ । उसले आठ खेल खेल्दा केवल ४ अंक मात्र जोड्न सकेको छ । प्लेअफमा स्थान बनाउने हो भने पञ्जाबले अब ६ वटै खेल जित्नुको विकल्प छैन ।    

  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १२:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया