logo-img

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने ओलीकाे रहर कि बाध्यता ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अड्कलबाजी सुरु भइसकेको थियो । कतिपयले त भण्डारीले शीतलनिवासबाटै एमालेको एउटा गुट सञ्चालन गरिरहेको आरोप लगाउने गरेका थिए । केही हदसम्म त्यो सत्य पनि थियो ।

उनकै जोडबलमा मन्त्री नियुक्तिदेखि अन्य निकायमा नियुक्तिको चलखेल हुने गरेको एमालेकै नेताहरु स्विकार्ने गर्छन् । त्यति मात्र होइन, एमालेको आन्तरिक राजनीतिमा भण्डारीको आफ्नै स्वार्थ रहने गरेको चर्चा थियो ।

हाल भण्डारीनिकट केपी शर्मा ओली एमाले अध्यक्ष भएकै बखत उनलाई पार्टी मुख्यालमै निम्ता गरेर गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरिएको छ ।  नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई ओलीलगायतले सम्मान गरे ।

सम्मान समारोहमा उनले व्यक्त गरेका अभिव्यक्ति कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याका बारेमा केन्द्रित थियो । नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवाद भन्नेमा उनको जिज्ञासा थियो । उनको अभिव्यक्ति र सम्मानलाई लिएर कतिपयले भण्डारीलाई सक्रिय राजनीतिका निम्ती ढोका खुकुलो बनेको अडकल सुरु भएको छ ।

एक वर्षपहिले नै शीतल निवास छाडेर आफ्नै निजीनिवासमा बसाइँ सरेकी भण्डारीले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुलाई पनि विशेष अर्थमा हेरिएको थियो । जसका कारण ६१ वर्षीया भण्डारीलाई सक्रिय राजनीतिमा आउन सहज बनाइसकेको थियो ।

निजी निवास सर्दै गर्दा पनि उनका राजनीतिक सल्लाहकार लालबाबुप्रसाद यादवले अवकाशपछि राष्ट्रपति भण्डारीले राज्यबाट पाइने सेवा–सुविधा नलिने निर्णय गरिसकेकाले समय र परिस्थितिअनुसार राजनीतिमा फर्किने निर्णय गर्न सक्ने बताएका थिए । तर, भण्डारीले सबैकुरा परिस्थितिले निर्धारण गर्ने बताउँदै आएकी छिन् ।



सोमबारको विशेष सम्मान मात्र होइन, भण्डारीलाई राजनीतिमा ल्याउने प्रशस्त आधारहरु तय हुँदै गएका छन् । आउँदो जेठमा हुने राष्ट्रिय महिला भेलामा भण्डारीलाई प्रमुख अतिथि बनाउने तयारी भइरहेको एमालेनिकट स्रोतले बतायो । १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला भण्डारीको प्रमुख आतिथ्यमा गर्ने निर्णय ५ वैशाखमै बसेको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको बताइन्छ ।

एमालेभित्रको ओली खेमा पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन जबरजस्त प्रयास गरिरहेको बुझिन्छ । ओलीपछि पार्टी नेतृत्व गर्ने उपयुक्त पात्रको खडेरी देखिएकाले भण्डारीलाई सक्रिय गराउने रणनीतिमा छ ।



हुन २०७९ फागुनमा शीतलनिवास छाडेर चपली सरेकी भण्डारी पार्टीका आधिकारिक कार्यक्रममा सहभागी भएकी थिइनन् । सोमबारको कार्यक्रममा सम्मान ग्रहण गर्नुलाई राजनीतिक विश्लेषकहरुले राजनीतिमा आउने नभइ सम्मानीत पोजिसनमा बस्नुपर्ने सन्देश दिन खोजेको भनेर बुझेका छन् ।
 
राजनीतिमा फर्किने कि नफर्किने भण्डारीको इच्छा, जनताको चाहना र आवश्यकतालगायतको परिस्थितिले निर्धारण गर्ने राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।

भण्डारीको इच्छा पनि राजनीति नभइ सामाजिक कार्यक्रमा सक्रिय हुने रहेको बुझिन्छ । मदन भण्डारी फाउन्डेसनको संरक्षक बनेर त्यसलाई थप सामाजिक काममा क्रियाशील बनाउँदै जनताको बीचमा पुग्ने भण्डारीको इच्छा रहेको उनी निकटका व्यक्तिहरु बताउने गर्छन् ।

तर, जनवर्गीय संगठनकै कार्यक्रममा निम्ताउनुलाई राजनीतिमा स्पेस जीवित छ भनेर बुझ्नेहरु पनि प्रशस्त छन् । पूर्वराष्ट्रपति भण्डारीको हालको उमेर, मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतका कारण पनि उनलाई सक्रिय राजनीतिमा आउने आधारहरु कार्यकर्ताले देख्ने गरेका छन् ।

सक्रिय राजनीतिमा आउने आधारहरुका रुपमा भण्डारीका विगतका दिनहरुले पनि प्रष्ट पार्ने गरेको छ । किनकि पार्टीको नवौं राष्ट्रिय महाधिवेशनपछि तत्कालीन अध्यक्ष ओलीपछिको शक्तिशाली उपाध्यक्षका रुपमा भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूह निर्माणको कसरत गरेकी थिइन् ।

उनले १०औँ महाधिवेशनलाई लक्षित गरेर अलग्गै समूह खडा गर्ने प्रशस्त प्रयास गरेकी थिइन् । तर, ओलीको चाहना, परामर्श र प्रस्तावमा दुवैपटक राष्ट्रपति बनेपछि उनले राजनीतिक बहसलाई बिट मारेकी थिइन् । तर, कार्यकाल समाप्त भएर निजीनिवास प्रवेश गर्नुअघि धेरै कार्यकर्ताले सक्रिय राजनीतिमा आउन जोडबल गरिरहेका थिए र छन् ।
 

  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १६:३४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया