logo-img

एमालेको कार्यक्रममा माधव नेपालको बहिष्कार : भागबण्डाको घुर्की कि नयाँ उथलपुथलको संकेत ?

सोमबार नेकपा स्थापनाको अवसर पारेर नेकपा एमालेले आयोजना गरेको हीरक महोत्सवमा विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी देखि एमाले छाडेर बसेका वामदेव गौतमसम्म पुगे । 

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजना गरिएको हीरक महोत्सवमा एउटै सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएनन् । प्रचण्ड र ओलीको ‘अनुरोध’का कारण सत्ता गठबन्धनमा मिसिएको बताउँदै आएका एस अध्यक्ष नेपाल पछिल्लो समय यी दुवै नेतासँग रुष्ट छन् । 

नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नभएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पोख्दै आएका छन् । असन्तुष्टि पोख्ने मात्रै होइन उनले आफूहरूलाई कमजोर ठानिए फेरि अर्को उथलपुथल मच्चाइदिने चेतावनी नै दिएका छन् । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिएको उक्त कार्यक्रममा नेपालको अनुपस्थितिलाई लिएर विभिन्न अड्कालबाजी पनि भएका छन् । एमाले​​ले नेपाललाई निमन्त्रणा नै दिएन कि नेपालले निमन्त्रणा अस्वीकार गरे भन्ने धेरैको चासोको विषय बनेको छ । कतिपयले यसलाई नेपालको घुर्कीका रूपमा लिएका छन् भने कतिपयले गठबन्धनको गाँठो फुस्काइको सुरुवातका रुपमा पनि लिएका छन् ।  

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट पार्टीहरूको फुटका विषयमा चिन्ता प्रकट गरिरहँदा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले भने कम्युनिष्ट एकतामा जोड दिएनन् । दाहालले अहिले कम्युनिष्ट एकता गर्न हतार नभएको टिप्पणी गरे भने ओलीले त फेरि मिल्ने भए कि फुटेको त ? भनेर प्रश्न नै तेस्र्याए । 



कम्युनिष्ट एकताको वकालत गर्दै आएका नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनाल ओलीको उक्त भनाइबाट अवाक भए । खनालले जति एकताको मन्त्र जपे पनि एमाले अध्यक्ष ओलीको रोजाइमा उनी पर्दैनन् भन्ने त इलाममा टिकट वितरणको कार्यले नै देखाइसकेको छ । खनाल पछिल्लो गठबन्धनबाट साझा उम्मेदवार बनेर इलाममा चुनाव लड्न चाहन्थे । उनले सावैजनिक रुपमै यस विषयमा बोलेका थिए । तर, एमालेले इलाममा मात्र होइन, बझाङ २ मा पनि सुरुमै आफ्नै एकल उम्मेदवार उठाएर गठबन्धनलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्यो ।

उपनिर्वाचनमा सहकार्यदेखि प्रदेशहरूको सत्ता भागबण्डामा सम्मानजनक स्थान खोजेको एकीकृत समाजवादीले आफूअनुकूल व्यवहार नपाएपछि समीकरण नै बदल्नेसम्मको चेतावनी दिइरहेको छ । व्यवहारमा जति हेपाइ सहनुपरे पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताउन भने छाडेका छैनन् । सोमबार पनि उनले लिखित रुपमा सो कुरा दोहोर्याए ।



कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै  नेपालले जनताको चाहनाअनुरुप शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताए । विगतको सबै कमजोरीको आत्मसमीक्षा गरी सही विचार र कार्यदिशा भएको कम्युनिष्ट आचरणको विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने उनको धारणा छ । 

कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताउँदै उनले भने, ‘टुटफुट विभाजन र एकताका अनेकौँ शृंङ्खला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ ।’

मुलुक र जनताका एजेण्डालाई केन्द्रविन्दुमा राखेर विगतका गल्ती नदोहोर्याउने विश्वासिलो आधारसहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढाउन सक्ने उनको दाबी छ । 

नेपालको कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि नै अंगीकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा अहिले पनि विविधखाले चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको प्रष्ट पारे । 

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाललगायत सम्पूर्ण संस्थापकहरुको स्मरण गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपुर्याउन जीवन उत्सर्ग गर्ने सहिदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार २२:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया