logo-img

कहीँ नभएको जात्रा हाँडीगाउँमा...

काठमाडौंस्थित हाँडीगाउँमा गहना खोज्ने जात्रा मनाइएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । 

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको इतिहास संस्कृतिकार जानकारहरु बताउँछन् ।

चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । 

चोक्काथुनाराणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेको यज्ञनाथ आचार्यले बताए ।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवानप्रति पूर्ण रूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवानप्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमानसहित नारायणको आराधना गरिन् ।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा भयो । गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजको आज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीविरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए । 
 
त्यहाँ पुगेर उनीहरुले मैनको फूल चढाई नारायणको आराधना गरे । त्यसपछि नारायणले चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि सुरुआत भयो ।
 
मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए ।
 
नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पुजा गरिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । 



यो जात्रामा पाँचजनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । 



 

  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार २०:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया