logo-img

बाबुराम भन्छन्- ‘प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन्’
फाइल तस्बिर

नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको बताएका छन् ।

आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ दिएर चुनाव जिताएर निःस्वार्थ सहयोग गरे पनि अहिले प्रचण्डले भने आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको उनको टिप्पणी छ ।   

भट्टराईले आफ्नै उक्त निर्णयमा मतदाता र पार्टीका नेताकार्यकर्तासँग क्षमासमेत मागेका छन् । ‘परन्तु निर्वाचनयता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झूट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन,’ बाबुरामले सामाजिक सञ्जालमा लेखेका छन् ।

मासिक गृहजिल्ला भ्रमणमा जाने बाबुरामले मतदाताको कुरा सुन्ने र सोहीअनुसार अगाडि बढ्ने गरिरहेको पनि उल्लेख गरेका छन् । गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको पनि उनले बताएका छन् ।  

देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र सामदाम, दण्डभेदको दुष्चक्रमा फस्दै गएको बताउँदै भट्टराईले हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको पनि उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १३:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया